विस्वासको मत कि, अविस्वासको खेती ?

होस्ट खबर ५ चैत्र २०८०, सोमबार
8 Min Read
Aa

सुर्खेत : एउटै कार्यकालमा पटकपटक विश्वासको मत लिइरहनुपर्ने लाजमर्दो अवस्थालाई माओवादी केन्द्रका आजीवन अध्यक्ष तथा तिगडमबाट सत्ता हत्याउन सफल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गौरवको अनुभूत गरिरहेका छन । विश्वासको मत दिने सांसदहरूले देशको उन्नति र प्रगतिको कामना गरेर सदाशयता राखी विश्वास दिएका भने होइनन् । सबैको स्वार्थ मिलेको छ, भाग पुर्‍याउन र चित्त बुझाउन उपप्रधानमन्त्रीको हुल थपिएको छ । श्रीमान-श्रीमतीको पार्टी पनि छ देशमा, प्रदेशमा त्यो पार्टीले मुख्यमन्त्री सहित केही मन्त्री पाउने अवस्था प्रबल देखिन्छ । केन्द्रतिर भन्दा आधारक्षेत्र अरु बलियो बनाउनुपर्ने श्रीमानको विचारलाई मन्त्रीको स्वाद चाखिसकेकी श्रीमतीले ठाडै इन्कार गरेर विश्वासको मत दिन अग्रसर भइन् । प्रलोभनको चास्नीमा डुबाएर विश्वासको मत लिए पनि कांग्रेससँगको सत्ता यात्रा भन्दा अबको सत्ता यात्रा दाहाललाई महंगो पर्ने देखिन्छ ।

‘म त म भैहालेँ । म नमरुन्जेल देशमा उथलपुथल भैरहन्छ ।’ भनी आपत्तिजनक अभिव्यक्ति दिएका दाहालले कारण तमाम जेसुकै दिउन् ऊनी आफ्नो कार्यकाल लम्बाउनका लागि काँध फेरेर फेरि ओलीसँग मिल्न आएको कुरा सायद जनताले बुझिसकेका छन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पछिल्लो गठबन्धनले देशको अवस्था सुधार होइन झन झन जटिल बन्दै जाने देखिन्छ । सत्ता टिकाउनका लागि मन्त्रीपरिषदको आकार फैलाउँदै जानुपर्ने बाध्यता छ भने अर्कोतिर पदखोर बेकामे उपप्रधानमन्त्रीलाई राज्यकोषबाट पोस्नु पर्ने अवस्था छ । यो अवस्था सिर्जना गर्न ओलीले प्रचण्डलाई किन बोके भन्ने एउटा प्रश्न उभिन्छ । ओलीले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवासँग पटकपटक भेट्न खोजेको कुरा स्वयं देउवाकै अभिव्यक्तिबाट सार्वजनिक भएको छ । भेटेको भए यो संकटग्रस्त दाहाल सरकारको विकल्पमा उत्तम उपाए केही फेला पर्थोकी  जनअभिमत बमोजिम कांग्रेस र एमालेले संयुक्त सरकार बनाउनु पर्ने भनी यहाँ जनता मात्र चिच्याएका होइन केही विद्वानवर्ग र मिडियाले पनि बारम्बार बोलिरहे लेखिरहे । तर कांग्रेस र एमालेले कतै मिल्ने मिलन विन्दु भेटाउन सकेनन् अर्थात विश्वासको आधार पहिल्याउन सक्ने अवस्था नै देखिएन । यही कमजोरीमा खेलेर दाहालले ओल्लोपल्लो कित्तामा बराबर छलाङ मार्दै सत्तामा राज गरिरहेका छन ।

देउवाले भाउ नदिएपछि ओलीले आफ्नो बल्छीमा सत्ताको चारो हालेर फ्याँके त्यसमा भोका दाहाल नपर्ने कुरै थिएन । जता काफल पाक्यो उतै चरी नाच्यो भने झैं रातारात फेरि ओलीकै शरणमा पुगे । लाज सरम भन्ने कतै बाँकी रहेन ।गठबन्धन टुट्दैन भनेर बाँसुरी बजाइरहेको कांग्रेस एकाएक सत्ता बाहिर पुग्दा त्यसरी नै छट्पटायो जसरी प्रचण्डबाट धोका पाएर पहिला एमाले छट्पटाएको थियोे । एक अर्का लाई मेख मार्न र त्यही बहानामा देश बर्बाद पार्न कहिलेसम्म प्रचण्डलाई बोकि हिंड्ने भन्ने अर्को प्रश्न उठ्छ । त्यसको लागि थोरै विगत केलाएर पाठ सिक्नुपर्छ र आत्मासमिक्षा गर्न पनि जरुरी देखिन्छ ।

निर्वाचनको परिणाम आइसकेपछि कांग्रेसी नेता कार्यकर्ता ले पहिलो कार्यकालको लागि दाहाललाई प्रधानमन्त्री बन्न दिन आपत्ति जनाए । सोही अनुरुप सभापति देउवाले पनि आनाकानी गरेर समय बिताउँदै आफ्नो भारी कस्ने ध्याउन्न मा लागे । पहिलो कार्यकालको प्रधानमन्त्री भएर आफ्नो परिवारजनलाई सरकारी जागिरमा पुर्‍याउन आतुर दाहाल आदर्श सिद्धान्त नैतिकता पोलेर खरानी पार्दै लाज सरम पचाएर ओलीको बार्दलीमा हाल हल्लाउन पुगे । बार्दलीबाट हात हल्लाएर प्रधानमन्त्री बनेका दाहाललाई विश्वासको मत दियो कांग्रेसले । प्रधानमन्त्रीको योग्यता क्षमतालाई कदर गरेर दिइएको थिएन त्यो विश्वासको मत । सभामुख पद फुत्काएको एमालेलाई छेकेर राष्ट्रपति पद जोगाउनु थियो । कांग्रेसले त्यो ढोग्सा नथापेको भए रामचन्द्र पौडेल पार्टीमा बिलौना गरेर अहिलेसम्म नेतृत्वलाई सरापीरहेका हुने थिए ।

कांग्रेसले अहिले जे नौबत व्यहोरी रहेको छ त्यो निर्वाचन अघि गठबन्धन गरेको परिणाम हो । माओवादीले हिजो हात काटिदियो त्यही हातले आज माओवादीलाई कसरी भोट हाल्नु भनि दुखेसो पोखेर पनि रुख चिन्हमा भोट हाल्ने बानी परेका ती मतदातालाई कांग्रेसले झपार्‍यो । श्रीमतीको कुरामा अधिक विश्वास गर्ने पार्टीका सभापति, तलदेखि माथीसम्मका धेरै कार्यकर्ताको सल्लाह सुझावलाई कुल्चेर निष्कणटक अगाडि मात्रै बढिरहे । कम्युनिस्टलाई टुक्राटुक्रा पारेर बहुमत हासिल गर्ने र शासन सत्ता चलाउने घातक सपनामा हराइरहे । केन्द्रीय महासमितिको बैठक सम्पन्न भैसक्दासम्म पनि निरन्तर मनमा त्यही सपना पालिरहे । दाहालबाट अकल्पनीय धोका खाएपछि घाइते बाघ बनेर भौंतारिएका छन ।

शब्दमा फूलबुट्टा भरेर जतिसुकै तर्क र व्याख्या विश्लेषणले ढाके पनि पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु ओलीको मूर्खता नै हो । मनमा इर्ष्या अहंकार पाल्दै देशको प्रधानमन्त्री भैसकेका माधवकुमार नेपाललाई कतै मनितो नदिएर उपेक्षा गरिरहनु पनि असल कार्य थिएन । माधव नेपाल सिखण्डी बनेर उतै गए भलै पार्टी खोलुन् प्रचण्डका कार्यकर्ता भए, आज प्रचण्डको इशारामा चल्न उनी विवश छन । नेपालको बहिर्गमनले सिंगो एमालेलाई पनि क्षति त पुर्‍यायोनी । प्रधानमन्त्री नै पार्टीको प्रथम अध्यक्ष भएको अवस्थामा संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति गर्न बाधा दिएको भनी संसद नै भंग गरिदिनु त सौताको रिसले पोइको काखमा केजाती भने झैं पो भयो । आफैले निम्त्याएको त्यो अनिष्टका कारण एमालेले सत्ता मात्र होइन पार्टीको सत्व पनि गुमायो, जो निर्वाचन परिणामले देखाइ दिएको छ ।

हिजो कांग्रेससँग गठबन्धन हुँदा रहँदाको सर्त अनुसार अबको ९ महिना पछि १ वर्षसम्म प्रधानमन्त्रीमा माधव नेपालीको पालो र त्यसपछि २ वर्षसम्म देउवाको पालो पर्ने सहमति भएको कुरा सतहमा आइसकेको थियो । यतातिर को गठबन्धनमा पनि भोलि नेपालको पालो समेत मिचिदिने र अन्तिममा ओलीलाई पनि धोका दिएर अभिष्ट पूरा गर्न फेरि देउवालाई फकाउन जाने लुप्त नियत हुन सक्छ तर परिणाम पाउन सजिलो हुनेछैन । प्रष्ट बहुमत नभए पनि ठूलो पार्टीको नेतृत्वमा साना पार्टी मिलेर सरकार बनाउने परम्परा अन्यत्र पनि छ तर यहाँ त त्यसको ठिक विपरीत भैरहेको छ । प्रचण्डकै कारणले पार्टीको साख गिर्दै गएको मात्र होइन परिवारवादबाट नेता कार्यकर्तामा पनि आक्रोश चुलिदै गएको छ । कुनै पनि दिन विष्फोट हुने सम्भावना लाई नकार्न सकिदैन । तावाबाट उफ्रेर भुङ्ग्रोमा पर्‍यो भने झैं उताबाट यता ठूलो भाग खान आएका दाहाल वरिपरिका संकटले आत्तिरहेका छन ।

संविधानको धारा ७६ (२) बमोजिम कुनै पनि पार्टीको प्रष्ट बहुमत नपुगेको खण्डमा दुई वा दुई भन्दा बढी पार्टीको समर्थनमा प्रतिनिधि सभाको कुनै सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यहोरा उल्लेख छ सोही अनुरुप दाहालको सरकार गठन भएको छ । आपसमा अनमन भएर कुनै पार्टीले समर्थन झिक्यो र विश्वासको मत पनि पुग्न सकेन भने सरकार ढलेर उपधारा (३) बमोजिम सबैभन्दा बढी सदस्य संख्या भएको पार्टी अर्थात कांग्रेसले सरकार बनाउने अवस्था आउँछ । यदि कांग्रेसले ३० दिन भित्र विश्वासको मत पाउन सकेन भने मध्यावधि निर्वाचनमा जानबाट कसैले रोक्न सक्दैन । यस्तो जोखिममा दाहालको सत्ता जोगाएर देशलाई जर्जर पारी दुस्ख दिनु भन्दा मनको मैलो मेटि विश्वास खोजेर कांग्रेस एमाले दुईपार्टीले सरकार चलाउने सदबुद्धि आएमा देश र जनता सबैको कल्याण हुने देखिन्छ ।

(उमालाल आचार्य कर्णाली प्रदेश, सुर्खेतका एक अब्बल लेखक- राजनीति, साहित्यिक र नाटकमा उनले लामो समयदेखि कलम चलाउँदै आएका छन् ।)

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array