कथाकारले गरे प्रत्यक्ष कथा वाचन, आखयानमा जे देखियो

होस्ट खबर १५ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगरको एउटा हलमा शनिबार पाँच जना कथाकारले प्रत्यक्ष कथा वाचन गर्दा दर्शकलाई मोफसलमा नयाँ स्वाद मिल्यो ।

कथालाई पढ्ने खुराक र बिधामा मात्र सिमित गर्नुहुदैन भन्ने मान्यतालाई पछ्याउँदै यहाँका साहित्यकारले २/२ वटा कथा वाचन गरे । वाङ्ग्मय चौतारीले आयोजना गरेको कार्यक्रममा नाटक विधाका सशक्त निर्देशक र लेखक समेत रहेका साहित्यकार उमालाल आचार्यले नवरस मिश्रित कथा ‘निशानी’ र ‘एउटा पर्चा’ वाचन गर्दा दर्शकले सिनेमाको जस्तै झल्को आएको बताए । कथा ‘निशानी’ वाचन गर्दागर्दै बाउ छोरीको बिछोड र बिलौनामा दर्शकका आँखा रसाए भने कथा पर्चाले एउटा जँड्याहा मजदुर कसरी डाक्टरले दिएको पर्चा पढेर सुध्रिन बाध्य हुन्छ अनि आफ्नी श्रीमतीलाई माया गर्दै जीवन लक्ष्यमा अघि बढ्छ भन्ने सन्देश दिन्छ । कथाकार आचार्यका प्रकाशित कथामा ‘डान्सबार’ र ‘कसुर’ यतिखेर निकै चर्चामा छन् । यसबाहेक उनका निर्देशन र लेखनमा थुप्रै नाटकहरु राष्ट्रिय नाटक महोत्सव देखि देशभर प्रदर्शन भएका छन् ।

नाटक विधाका सशक्त निर्देशक र लेखक समेत रहेका अर्का साहित्यकार गणेशभक्त्त गौतमले प्रस्तुत गरेको कथा ‘तीनपाटो’ ले समाजको वास्तविकतालाई छर्लङ्ग पार्दछ । वाङ्ग्मय चौतारीका अध्यक्ष समेत रहेका गौतमले प्रकाशन गरेको नाटक सङ्ग्रह ‘युगारम्भ’ निकै चर्चामा छ । उनका नाटकहरु मुशल पर्व, अंश कि बङ्श, कुर्सी दौड लगायत विभिन्न समयमा राष्ट्रिय नाटक महोत्सव र देशभर प्रदर्शन समेत भएका थिए ।

अर्का कथाकार मीनराज पन्तले प्रस्तुत गरेको कथा ‘मनको कुना’ ले पनि दर्शक तथा श्रोताको ध्यान खिच्यो । कथा ‘भोक’ वाचन गर्दा दर्शकहरु चुर्लुम्मै कथामा डुबेका देखिन्थे । उनका गजल र कविता विधामा पनि सशक्त रचनाहरु प्रकाशन भएका छन् ।

अर्का साहित्यकार तथा रङ्गमन्चका सशक्त कलाकार गणेश बस्नेतका कथा ‘राजधानीको घर’ दर्शकले निकै मन पराए । आधुनिक समाजमा सन्तानले आफ्ना छोराछोरीबाट सहेको तिरस्कारलाइ कथामा समेटिएको छ भने कथा ‘बिदाई’ ले कर्मचारीतन्त्र भित्रको पाटोलाई उदाङ्गो बनाएको छ । कथाकार बस्नेतलाई उक्त अवसरमा सम्मान समेत गरियो । साहित्यकार डाक्टर दिपक गौतमले बाङ्गमय चौतारी का तर्फबाट उनलाइ सम्मान गरेका हुन् ।

अर्का कथाकार नारायणविक्रम जिसीले प्रस्तूत गरेको कथा ‘कार्यकर्ता’ ले देशको भ्रष्ट राजनीतिलाई व्यङ्ग्य गरेको थियो भने अर्को कथा ‘राजनीति’ पनि जनताहरुलाई नेताले भेडा बनाएको संकेतका रुपमा प्रस्तुत थियो ।

कथाका बारेमा गजलकार तथा साहित्यकार युवराज शर्माले प्रतिक्रियात्मक टिप्पणी गरे । कार्यक्रममा साहित्यकार तथा डाक्टर नवराज केसी, देवकी तिमिल्सिना, खगेन्द्र अधिकारी ‘अमृत’, सरस्वती अधिकारी पन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई चलचित्र निर्देशक निर्मल प्याकुरेलले छायांकन गरे र बरिस्ठ कलाकार ज्ञानबहादुर नेपालीले बाँसुरीमा साथ दिएर जिवन्त तुल्याए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array