लयमा फर्किंदै अर्थतन्त्र

होस्ट खबर ३० पुष २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं : उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फीति (महँगी), रेमिट्यान्स (विप्रेषण) आप्रवाह जस्ता सूचकले सकारात्मक दिशातर्फ नै निरन्तरता पाएको देखाएको छ ।

विश्व अर्थतन्त्रमा देखिएको मन्दीसँगै उच्च विन्दुमा पुगेको उपभोक्ता मूल्य वृद्धिदर (महँगी) लक्षित सीमातर्फ उन्मुख देखिएको छ । मङ्सिरमा उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ३८ प्रतिशतमा ओर्लेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) मा उपभोक्ता मूल्य वृद्धिदर ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य निर्धारण गरेको छ ।

गत भदौमा ८ दशमलव ६४ प्रतिशतसम्म पुगेको महँगी असोजमा ८ दशमलव २६ र कात्तिकमा ८ दशमलव शून्य ८ प्रतिशत थियो । कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय स्तरमै महँगी उच्च हुँदा त्यसको बाछिटाबाट नेपाल प्रभावित भएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानको भाउ घटेको छ ।

विदेशी मुद्रा सञ्चिति बढ्ने क्रमले मङ्सिरमा पनि निरन्तरता पाएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ६ दशमलव ३ प्रतिशतले बढेर मङ्सिरमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलर सञ्चिति पनि २०७९ असार मसान्तको ९ अर्ब ५४ करोड रुपैयाँबाट बढेर मङ्सिर मसान्तमा ९ अर्ब ८२ करोड कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

मङ्सिर मसान्तको विदेशी मुद्रा सञ्चितिले आव २०७९/८० को ५ महीनाकै अनुपातमा आयात भइरहे १० महीनाको वस्तु आयात गर्न पुग्छ । वस्तु र सेवा दुवै आयातका लागि भने ८ दशमलव ७ महीनालाई पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । कात्तिकमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चितिको आकार १ महीनामा करीब ५० अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

मङ्सिरमा देशको शोधनान्तर स्थिति थप मबजुत बनेको छ । मङ्सिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । कात्तिक मसान्तमा देशको शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रने र बाहिरिने रकमको हिसाब शोधनान्तर हो । पोहोर मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो ।

यस्तै अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू वर्षको मङ्सिर मसान्त हुँदा ३४ करोड ६८ लाखले बचतमा गएको छ । कोभिड–१९ महामारी र त्यसलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षहरूमा आयात घट्दा शोधानान्तर स्थिति बचतमा थियो । तर, गतवर्षको शुरूदेखि नै आयात उच्च भएपछि शोधनान्तर घाटा बढ्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array