सुर्खेत : कर्णालीमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सम्बन्ध सुमधुर हुन नसकेको देखिन्छ । बिहीबार सरकारको नेतृत्व गरिरहेको एमालेले साझेदार दल कांग्रेसको भूमिका संयुक्त सरकार (गठबन्धन) को संस्कृति अनुरूप नभएको निष्कर्ष निकालेको थियो ।

त्यसैको सेरोफेरोमा रहेर शुक्रबार एक कार्यक्रम प्रभावित बनेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक कार्यक्रम बिचमै स्थगित हुन पुगेको हो।
आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा कार्यक्रम आयोजना गरेको थियो
उक्त कार्यक्रम सत्तारुढ दुई दलहरूबिचको विवादका कारण स्थगित भएको प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसदहरूले बताएका छन् । सभामुख, सबै दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा सुरु हुन लागेको कार्यक्रम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही उठेर हिँडेपछि स्थगित नै भयो ।
कतिपयले बिहीबार एमालेले कांग्रेसको भूमिकामाथि प्रश्न उठाएपछि कांग्रेस रिसाएको र त्यसैको बाछिटा आजको कार्यक्रमका परेको दाबी गरेका छन् । एमालेनिकट एक मन्त्रीले भने कांग्रेस दल नेता शाहीलाई विशेष अतिथि नबनाएको रिसमा उठेर हिँडेको दाबी गरे ।

‘उहाँलाई विशेष अतिथि नबनाएको झोकमा उठेर हिँड्नु भएको हो,’ ती मन्त्रीले भने। कार्यक्रम आयोजक अर्थ मन्त्रालयका प्रवक्ता महेन्द्रजंग शाहीले अतिथि भन्दा पनि उहाँहरू (कांग्रेस-एमाले) बिच केही समस्या भएर कांग्रेस दल नेता निस्किएको हुन सक्ने बताए ।
उनले “प्रोटोकल” को विषयले समस्या नभएको बताए। ‘के कारणले उहाँहरू निस्कनुभयो, त्यसको पुष्टि चाहिँ अब उहाँहरूले गर्नुहोला,’ उनले भने, ‘कार्यक्रम सुरु हुनुभन्दा नै अधिका कुरा हुन् उहाँहरूका ।’ अर्कातर्फ आयोजक रहेको अर्थ मन्त्रालय कांग्रेसकै राजीवविक्रम शाहले नेतृत्व गरिरहेका छन् ।
‘खास विवादको चुरो कुरो के हो कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँग यही विषयमा छोटो कुराकानी गरेको छ। प्रस्तुत छ’, उनीसँगको कुराकानीको अंश:
कांग्रेस, एमालेबिच लफडा हुँदा आज बिहानको कार्यक्रम नै स्थगित भयो भन्ने छ, खास कुरा के हो ?
— त्यस्तो लफडा केही भएको होइन के भयो र ?
विवादका कारण कार्यक्रम बिचमै स्थगित भयो भन्ने छ नि ?
— त्यसो होइन, हाम्रो जुन उद्देश्य थियो, अहिलेको यो कार्यविधिहरूलाई संशोधन गर्ने भन्ने थियो। हाम्रो बुझाइ कार्यविधि संशोधन गरेपछि (तत्कालै) लागू हुन्छ भन्ने थियो। यो समपूरक, विशेष र सशर्त अनुदानको कार्यविधिबारे थियो। तर यहाँ यो पटक त भइहाल्यो, यो त अर्को वर्षको लागि हो भनेर भनियो। अर्को वर्षको लागि हो भनेपछि त अर्को वर्षको लागि अहिले कार्यविधि संशोधन गरिरहनु त केही परेन नि त ? कार्यविधि त सालबसाली हुन्छ, अर्को वर्ष त अर्कै होला । यो ऐन होइन क्यारे। त्यसैले अर्को वर्षको लागि हो भने यस विषयमा छलफल गरिरहनुपर्ने कुनै आवश्यकता भएन भनेर हामी उठेर हिँडेको हो, लफडा नै भएको होइन ।
तपाईं उठेर हिँडेपछि कार्यक्रम सुरु हुन सकेन नि ?
— हामीले के भन्यौं भने यो जबरजस्ती भयो। जस्तै अस्ति हामीले योजना आयोगको कार्यविधि संशोधन गयौं। त्यो गर्दाखेरि यही साउनबाट नै दरखास्त दिन पाउने भन्ने भएर त्यसको काम भयो। अब यो कार्यविधि (संशोधन) अर्को वर्षका लागि हो, अहिले लागू हुँदैन भने त त्यसै सुनेर के गर्ने ? सालबसाली परिवर्तन हुने कुरामा अहिले छलफलको उपादेयता छैन भनेको हो। त्यति मात्रै हो। अरू लफडा केही होइन ।
कार्यक्रमस्थलमा कतिपयले तपाईंलाई विशेष अतिथि नबनाएकाले तपाईं निस्किनुभएको भन्ने छ, यो सत्य हो ?
— होइन, त्यो मर्यादाक्रमको कुरो चाहिँ मैले राखेकै हो। प्रोटोकलको कुरा आफ्नो ठाउँमा छँदैछ। तर त्यो नमिलेर म निस्केको होइन । त्यो नमिलेर निस्किने भए त म पहिले नै निस्किन्थें होला नि ? जब प्रिजेन्टेसन सुरु भयो, मैले अतिथिको कुरामा यति चाहिँ भनें- अन्य अतिथिसरह एउटा सत्ता साझेदार दलको नेता त नहोला नि ? मैले आफ्नो गुनासो राखें, तर त्यो भनेर म उठेको होइन ।
म उठेको कारण यो कार्यविधि आज संशोधन गरिसकेपछि यही वर्ष लागू हुने हो कि के हो भनेर सोध्दा मुख्यमन्त्रीज्यूले ‘होइन, यो वर्ष त गइसक्यो, यो त अर्को वर्षको लागि हो’ भन्नुभयो ।
त्यसो भए सालबसाली कार्यविधि त अर्को साल बजेट आउनु अगाडि गरौंला नि ? त्यसैले अहिले यसको लागि बसेर छलफल गर्नुपर्ने विषय केही रहेन भनेर म उठेको हुँ। मैले मर्यादाक्रमको कुरो उठाएको हुँ तर त्यसैले हिँडेको होइन ।
रातोपाटीका पत्रकार पंख बहादुर शाहीले पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँग गरेको कुराकानीबाट।












प्रतिक्रिया दिनुहोस्