उपल्लो डोल्पास्थित चिनियाँ नाकामा पहिलोपटक पुग्यो सीडीओसहितको सुरक्षा टोली

होस्ट खबर ७ श्रावण २०८२, बुधबार
2 Min Read
Aa
फोटो सौजन्य : कान्तिपुर

सुर्खेत : उपल्लो डोल्पास्थित चिनियाँ नाकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेको छ ।नाकाको स्थलगत अवलोकन गर्ने उद्देश्यका साथ सुरक्षा(प्रशासनको पहिलोपटक पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्का लगायतको सुरक्षा टोली पहिलोपटक पुगेको डोल्पोबुद्व गाउँपालिकाले जनाएको छ । टोलीमा गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङ, उपाध्यक्ष पेम्बा धोर्चे गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा, शिक्षा शाखा प्रमुख निर्मोद केसी पनि सहभागी थिए ।

नेपाल-चीन सीमावर्ती मोरिम्ला नाका पुगेर टोलीले आफ्नो देशको साँध सिमानाको स्थलगत अवलोकन गर्नुका साथै १५ नम्बर पिल्लरको अवस्था समेत बुझेको थियो । नाकाको भ्रमणसँगै उपल्लो डोल्पाका तीनवटा पालिकामा राष्ट्रिय परिचयपत्र वितरणको अवस्था बुझेको प्रजिअ महतले बताए । ‘एक साताको भ्रमणमा निस्केका थियौं । उपल्लो डोल्पामा राज्यको उपस्थिति, जनताका गुनासा, सेवाप्रवाह, विकास निर्माणको अवस्था समेत प्रत्यक्ष रुपमा जान्ने अवसर मिल्यो,’ उनले भने ।
भ्रमण टोलीले १ सय ५४ वटा सीमापास समेत जारी गरेको छ । प्रत्येक वर्ष १५ देखि ३० दिनसम्मका लागि मोरिम्ला नाका खुल्ने गर्छ । यस अवधिमा यार्चा व्यापार, दैनिक उपभोग्य वस्तु तथा लत्ताकपडाको खरिदबिक्री हुन्छ ।

फोटो सौजन्य : कान्तिपुर

भ्रमण टोलीसँग उपल्लो डोल्पावासीले पाँचबुँदे मागसमेत राखेका थिए । जतिसक्दो चाँडो सीमा सुरक्षा बल राख्नुपर्ने, भेरी करिडोरको ल्यासिक्याप(सिसौल सडक छिटो निर्माण सुरु गर्नुपर्ने, इलाका प्रशासन कार्यालय स्थापना, मोरिम्ला नाका नियमित र कानुनी रुपमा सञ्चालन र नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तारको पहल गर्नुपर्ने उनीहरुको माग छ ।

यस अवधिमा सीमावर्ती प्रहरी चौकीको स्थलगत अवलोकन गर्नुका साथै उनीहरुका समस्या तथा गुनासा पनि सुनिएको डीएसपी खड्काले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्