घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

होस्ट खबर १५ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व संकलन भएकोमा चालँ आर्थिक कात्तिकमा अढाइ अर्ब राजस्व घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेखन विभागका अनुसार गत कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार ९ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष असोजमा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख राजस्व संकलन भएको थियो । तर, चालू आव गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख राजस्व उठेको पाइएको छ ।

विभागका अनुसार कात्तिकमा ७६ हजार ५ सय ६२ घरजग्गा कारोबार भएको छ । गत वर्ष कात्तिकमा १ लाख ३४ हजार ५ सय ४९ मा कारोबार भएको थियो । कात्तिकमा कारोबार घटेसँगै राजस्व संकलनमा समेत असर परेको छ । यसैगरी, गत असोजमा ७४ हजार ८ सय ५० घरजग्गा कारोबार भएको थियो । जुन गत अघिल्लो असोजको तुलनामा कम हो । अघिल्लो असोजमा १ लाख ६८ हजार ६ सय ९ घरजग्गा कारोबार भएको थियो ।

गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएको थियो । गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको देखिएको छ । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा कारोबार भएको छ । गत असोजमा इनरुवाबाट १ हजार १ सय ४९ वटा घरजग्गा कारोबार हुँदा भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेबाट १ हजार २८ कारोबार भएको थियो ।

गुठी अधिनस्थ जग्गाको लिखत पारित भने ६५ वटा मात्र भएको थियो । सबैभन्दा बढी लिखत पारित गर्ने भूमिसुधार कार्यालयमा क्रमशः इनरुवा, नेपालगन्ज, जनकपुरधाम, मोरङ, भद्रपुर, राजविराज, चितवन, घोराही, बुटवल, तुलसीपुर र भक्तपुर छन् ।

गत कात्तिकमा नेपालभरमा कुल २७ हजार ९ सय ३९ लिखत पारित र नामसारी २ हजार २ सय ८१ वटा भएको थियो । गत कात्तिकमा बझाङ, मनाङ, सिर्दिवास, बलरा र काठमाडौंको मनमैंजुबाट कुनै पनि लिखत पास नभएको तथ्यांक विभागको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्