साउनमा झन्डै दुई अर्बको बिजुली निर्यात

होस्ट खबर ६ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं : गएको साउनमा मात्रै नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ८३ करोड ८८ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा उक्त एक महिनाको अवधिमा २४ करोड २६ लाख ८३ हजार युनिट बिजुली बिक्री भएको प्राधिकरणले जनाएको छ । यो अवधिमा औसत दैनिक पाँच करोड ९३ लाख रुपियाँको बिजुली बिक्री भएको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी बचत भएको विद्युत् गत जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स०का डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत् मात्र बिक्री गरिएकोमा जेठ २७ गतेदेखि दैनिक ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।

गत आर्थिक वर्ष ७३५ मेगावाट विद्युत् प्रणालीमा थपिएपछि प्राधिकरणसँग वर्षायाममा बिजुली बचत हुन्छ । उत्पादनभन्दा स्वदेशी खपत कम भएपछि विद्युत् निर्यात गर्ने अवसर पाएको हो ।

“विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुक बीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ,” कार्यकारी निर्देशक घिसिङले भने ।

४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् निर्यात गर्न प्रस्ताव
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार थप ११० मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको छ । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्