पेट्रोलको मूल्य घटेर आएपनि सरकारले घटाएन मूल्य

होस्ट खबर १ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं : तत्काल पेट्रोलियमको मूल्य नघट्ने भएको छ। भारतीय आयल कर्पोरेसन आईओसीले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमले पेट्रोलमा नाफा गर्न थालेको छ। तर, बक्यौता उच्च रहेको भन्दै मूल्य घटाएको छैन। तत्काल मूल्य घटाउन नसकिने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी बताउँछन्।

निगमले मंगलबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जानकारी गराएको हो। निगमलाई अझै २३ अर्ब घाटा रहेको थानीले बताए। निगमको मासिक घाटा तथा आईओसीलाई चार महिनादेखि भुक्तानी दिन नसकेको रकम अझै २३ अर्ब छ।

निगमको बक्यौता रकम क्रमशः भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन सहज गर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य नघटाइएको जनाइएको छ। नयाँ मूल्यअनुसार मासिक ६२ करोड ५८ लाख घाटा हुने निगमले जनाएको छ। अहिले ऋणको ब्याज मात्र मासिक १४ करोड बुझाइरहेको थानी बताउँछन्। आईओसीले हरेक १५ दिनमा मूल्य सूची पठाउँछ। जुलाई २२ देखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको छ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ७४ पैसा नाफा हुन्छ। डिजेलमा भने ४ रुपैयाँ ५० पैसा घाटा हुन्छ। ग्यासमा ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा हुने निगमले जनाएको छ। हवाई इन्धन र मट्टीतेलमा केही नाफा नभएको निगमले जनाएको छ।

राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णुप्रसाद मैनालीले सरकारले उपभोक्ताको हितमा काम नगरेको बताए। संसदीय समितिले १५ दिनमा मूल्य समायोजन गर्न निर्देशन दिए पनि सरकारले पालना गरेको छैन। ‘मूल्य बढ्दा पटकपटक बढाइयो, अहिले घटाउन आनाकानी गरिरहेको छ’ उनले भने।

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array