कर्णालीबाट चिकित्साशास्त्र अध्यापन

होस्ट खबर १९ श्रावण २०७९, बिहीबार
3 Min Read
Aa

जुम्ला : स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत छन् । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उनलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उनले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताए । पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उनले भने, “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”

एमबीबीएस अध्ययनरत विद्यार्थी सिद्धार्थजस्तै सिरहाका नरुजाहँ खातुन पनि अहिले जुम्लामा एमबीबीएस अध्ययन गरिरहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी नुरजाहँले आफूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर बनाउनेमा ढुक्क भएको बताए । मधेशबाट हिमालमा पढ्न आउँदा सुरुमा नौलो लागे पनि अहिले राम्रो लागिरहेको उनले बतए । सिन्धुपाल्चोककी रेजिना ढकाल पनि जुम्लामा एमबीबीएस अध्ययनरत छिन् । रेजिनाले “सुगमबाट दुर्गम भनेर आएको जुम्ला त सुगम पो रहेछ,” हाँस्दै सुनाईन् । उनले एमबीबीएस खुला छात्रवृत्ति कोटामा नाम निकालेर पढ्न आएको बताईंन् । अध्ययनका लागि नाम निकालेर जुम्ला आउन पाउँदा खुसी भएको भन्दै जुम्लाबाट चिकित्सक पढ्ने सपना पूरा हुने उनले बताईंन् ।

कुनै समयमा चिकित्सक नपाउने जुम्ला अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ । यस वर्ष विगत वर्षभन्दा एमबीबीएसमा दसवटा कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा. दिनेश बास्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् । यस वर्ष ३० जनाको सिट स्वीकृत भएको बताइएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ । उनका अनुसार उच्च शिक्षामा स्कुल अफ मेडिसिन, दोस्रो स्कुल अफ नर्सिङ र तेस्रो स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ । नर्सिङमा मिडवाइफ स्नातक र बीएन अध्ययन भइरहेको बताइएको छ । स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थो र एमडीजीपी कक्षासमेत सञ्चालन गरेको छ ।

२०७८ साल मङ्सिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रमबीच एमबीबीएस कार्यक्रम उद्घाटन गरेपछि जुम्लामा एमबीबीएस कार्यक्रम सुरुवात भएको हो । गोरखापत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array