कर्णाली उत्सव: विचार र सार्वजनिक नीतिको बहस

होस्ट खबर १२ पुष २०८०, बिहीबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।

ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताइन् ।

उनले उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियानसमेत भएको बताइन्। उनले भनिन्, ‘हामीले उत्सवको पहिलो र दोस्रो संस्करणमा १४र१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन गर्‍यौं । सबै संस्करणका सत्र गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका एक सय ८४ वक्ता राखेर विचारमाथिको बहस गरिएको छ ।’

फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करण सम्पन्न हुनुले मोफलसबाट पनि राष्ट्रिय महोत्सव गर्न सकिन्छ भन्ने मानक स्थापना भएको दाबी गरे । ‘यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याएको छ,’ उनले भने, ‘लुकेको प्रतिभा पहिचान र प्रवद्र्धनमा पनि त्यतिकै योगदान दिएको छ ।’

निर्देशक गौतमका अनुसार आगामी फागुनबाट कर्णाली उत्सवको पाँचौँ संस्करण सञ्चालन हुनेछ । संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । त्यस्तै, प्रदेशस्तरीय भिडियो प्रतिस्पर्धा, कर्णालीको पैकेलो पहिचान, लगानी सम्मेलन र बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उनको भनाइ थियो ।

उक्त कार्यक्रमका सहभागीले कानुन कार्यान्वयन गर्ने सरोकारवालाबाट हुने गैरकानुनी गतिविधि, आयुर्वेद चिकित्सा पद्धति, खानपिन संस्कृति, युवा पलायन, उत्पादन र उत्पादकत्व, नवप्रवर्तनात्मक कार्य, विश्वका विशिष्ट सभ्यतामध्येको सिंजा सभ्यताका बारेमा पनि बृहत बहस थालनी गर्न आयोजकलाई सुझाव दिएका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array