कुन व्यवस्था अँगाल्ने भनेर सोच्ने बेला आयो: पूर्व राजा ज्ञानेन्द्र शाह (भिडियोसहित)

होस्ट खबर १४ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

सुर्खेत : पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको विकास समृद्धिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा शाहले लोकतान्त्रिक व्यवस्थालाई ईङ्गित गर्दै त्यसको विकल्प खोजी गरिनुपर्ने बताएका हुन्।

कर्णालीको विकास आफ्ना दाजु पूर्व राजा वीरेन्द्र शाहले गरेको भन्दै उनको राजाकालमा भएको विकासको अहिले स्तराेेउन्नती समेत नभएको औल्याए। उनले भने, ‘कर्णाली राजमार्ग, रत्न राजमार्ग लगायतका ठूला विकास निर्माणका आयोजनाका साथै वीरेन्द्रनगरको शहरीकरण पहिले नै भएको हो। जनता पनि अहिलेको अवस्था र व्यवस्थाबाट सन्तुष्ट छैनन्। देशको भलो चिताएर जनताको हितमा काम गर्नका लागि सबैको राष्ट्रिय दायित्व हो। एक आपसमा अन्तरद्वन्द्व गरेर कसैलाई हित हुँदैन। यो दायित्वमा निरन्तर, व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति हो।’

उनले जनतन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिकवाद, भौतिकवाद जे-जे शब्द भनेपनि मुल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान भएको बताए।

‘जनतालाई केन्द्रमा राखेर शु-सासन र विकास गर्नुपर्छ। दुई दशक लामो समय गुमाएर अभ्यास गर्दै आएको शासन प्रशासन सही भएको छ र ? हामी जहाँ जान्छौँ जे सुन्छौं, जस्तो देख्छौं। त्यसबाट थाहा पाएका छौँ। आज कुरा धेरै काम कम भएको छ। नेपाल र नेपालीको सहित हित चाहाने मित्रहरूले पनि यि कुरा गहिरिएर सोचिरहेका छन्। जनताले रोजेको, खोजेको, सोचेको अनुसार जब हुँदैन तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ टिकाउ हुँदैन।’

उनले अबको विधि र व्यवस्था अगाल्ने भन्ने विषयमा सोच्नैपर्ने बेला आएको छ। पूर्व राजा शाहले सम्बोधन गरिरहेका बेला राजतन्त्र जिन्दवाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ जस्ता नाराहरू लगाइरहेका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array