बाँकावीर र भीमदत्तबारे ओलीको बोली कति सत्य ?

होस्ट खबर १७ मंसिर २०८०, आईतवार
11 Min Read
Aa

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले शुक्रबार अनेरास्ववियुको कार्यक्रममा इतिहासका स्थापित मान्यताभन्दा फरक तर्क र दाबीसहित दुई सन्दर्भ कोट्याए ।

पहिलो : नेपालको पहिलो शहीद लखन थापा नभई बाँकावीर हुन् भन्ने दाबी गरे ।

दोस्रो : भीमदत्त पन्तलाई मार्न भारतीय सैनिक नेपाल भित्र्याइएको दाबी गरे ।

आफ्ना ‘धुवाँधार’ अभिव्यक्तिका कारण सधैँ चर्चामा रहने ओली यसपटक पनि ऐतिहासिक सन्दर्भमाथि नयाँ दाबी गरेर मिडिया र सामाजिक सञ्जालमा छाए ।

अनेरास्ववियुको कार्यक्रममा पहिलो शहीद लखन थापा नभएको दाबी गर्दै ओलीले भने, ‘बैतडी, बझाङ कतातिर हो, बाँकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तारपछि हत्या गरेको थियो । र, उनी पहिलो शहीद हुन् । पहिलो शहीदको सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाँकावीर नेपालको राजनीतिक जागरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो शहीद हुन् ।’

नेपालमा अहिलेसम्म आधिकारिक रूपमा घोषित पहिलो शहीद गोर्खाका लखन थापा हुन् । थापालाई सरकारले २ असोज ०७२ मा पहिलो शहीद घोषणा गरेको थियो । त्यसअगाडि नै ११ फागुन ०५६ मा सरकारले थापालाई शहीद घोषणा गरिसकेको थियो । ओलीको अभिव्यक्तिमाथि मगर समुदायले चर्को आपत्ति जनाएको छ ।

जंगबहादुर राणाविरुद्ध विद्रोह गरेको अभियोगमा थापालाई पुस १९३३ मा राणा शासकले मारेका थिए । यही आधारमा सरकारले उनलाई पहिलो शहीद दर्ज गरेको हो ।

तर, ओलीले ‘पहिले शहीद’ ‘बाँकावीर’ भएको दाबी गरे ।

आखिर बाँकावीर को हुन् ?

ओलीले दाबी गरेजस्तै बाँकावीर बैतडी, बझाङका होइनन् । अछाम जिल्लाका हुन् ।

सुदूरपश्चिमको इतिहाससम्बन्धी जानकार आत्माराम ओझाको किताब ‘नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन’मा उल्लेख भएअनुसार ‘बाँकावीर’को खास नाम बलदेव शाही हो ।

डोटी क्याम्पसमा इतिहास विषयका प्राध्यापक अर्जुनबहादुर देउवाले ‘को थिए बलदेव शाही ९बाँकावीर०’ शीर्षकको लेख लेखेका छन् । ‘बाँको’ जस्तो विषालु वनस्पति खाएर पनि जीवितै रहन सकेकोमा बलदेव शाहलाई बाँको खाने वीर अर्थात् ‘बाँकावीर’ भन्न थालिएको देउवाले लेखेका छन् ।

सत्ता हत्याएपछि सुदूरपश्चिमका राजा रजौटाबाट हुन सक्ने सम्भावित विद्रोह दमन गर्ने नीतिअन्तर्गत जंगबहादुरले अछामको बान्नीगढीमा सैनिक क्याम्प राखेका थिए ।

अछामको इतिहाससम्बन्धी ज्ञाता सुरतबहादुर शाह आफ्नो पुस्तक ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’मा लेख्छन्, ‘जंगबहादुरले बान्नीगढीसहित अछामका ५ स्थानमा सैनिक पोस्ट ९ठाना० राखे । अछाममा सबै सैनिक पोस्ट बान्निगढी पोस्टअन्तर्गत रहन्थे ।’

यी सैनिकले अछाम र त्यस क्षेत्रका जनतामाथि ुजुलुमु गर्न थालेपछि बलदेव शाही अर्थात् बाँकावीरले विद्रोह सुरु गरेको ओझाले ‘नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन’ नामक किताबमा उल्लेख गरेका छन् ।

बाँकावीरले जंगबहादुर र तिनका सैनिकविरुद्ध संगठित रूपमा सैन्य विद्रोहको सुरुवात गरेको कुरा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतिलाल बोहोराले ‘नेपालका प्रथम अमर शहीद बाँकावीर बलदेव’ शीर्षकको लेखमा उल्लेख गरेका छन् ।

बाँकावीरले आफूविरुद्ध सैन्य विद्रोह गर्न लागेको चाल पाएपछि जंगबहादुरले उनलाई मार्ने आदेश दिएको पहलमानसिंह स्वाँर स्मृति ग्रन्थमा ‍‍‍‍लेखिएको छ ।

सुरतबहादुर शाहको किताब ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’मा उल्लेख भएअनुसार जंगबहादुरले वैशाख १९०५ मा बाँकावीरलाई मार्ने आदेश जारी गरे ।

बाँकावीरलाई काट्ने आदेशपत्रको नमुना ।
अमर नक्षत्र बाँकावीर नामको लेखमा शाहले उल्लेख गरेअनुसार जंगबहादुरका सैनिकले बाँकावीरलाई कैलालीको चिसापानीबाट उत्तरतिरको जंगलको एउटा खोलाछेउमा घेरा हालेर पक्राउ गर्न खोजेका थिए । तर बाँकावीर वर्षातको भेलले उर्लिएको खोलासमेत उफ्रिएर पार गरी भाग्न सफल भएको शाहले लेखेका छन् । उक्त स्थानलाई अहिले ‘बाँकावीर फट्के’ नामले चिनिन्छ, जुन कैलालीको सुँगुरखालमा पर्छ । त्यहाँ बनाइएको पुललाई पनि बाँकावीर पुल नाम दिइएको छ ।

ओझाको किताब ‘नेपाली इतिहास मन्थनः केही ऐतिहासिक खोजहरूको संकलन’, बोहोराको लेख ‘नेपालका प्रथम अमर शहीद ‘बाँकावीरु बदलेव’ु, शाहको किताब ‘सुदूरपश्चिममा उदाएका अमर नक्षत्र’ र ‘पहलमानसिंह स्वाँर स्मृति ग्रन्थ’मा उल्लेख भएअनुसार बाँकावीरलाई मार्नका लागि जंगबहादुरले अछामकै दुई जना स्वाँर दाजुभाइलाई लगाएका थिए ।

राणाविरुद्धको बाँकावीर विद्रोहमा जोडिने भन्दै भवानीसिंह स्वाँर र कालुसिंह स्वाँर बाँकावीरको सैनिक टोलीमा मिसिन आएका थिए । तर, स्वाँरद्वय जंगबहादुरले खटाएका सैनिक थिए । वि।सं। १९०६ को बर्खायाममा यी दुई जना स्वाँरले बाँकावीरलाई मारेका थिए । स्वाँर बन्धुले तत्कालीन जनालीकोट गाविस वडा नं ५, ९हाल बान्नीगढी गाउँपालिका० मा पर्ने काफलखेतको धारामा नुहाउने क्रममा बाँकावीरलाई खुकुरीले काटेर मारेका थिए ।

के भीमदत्त पन्तलाई मार्न भारतीय सैनिक नेपाल आएका थिए ?

किसान आन्दोलनका प्रणेता मानिने सुदूरपश्चिमका भीमदत्त पन्तलाई मार्न तत्कालीन सरकारले भारतीय सैनिक नेपाल बोलाएको दाबीसमेत गरे, पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका ओलीले । प्रधानमन्त्री देउवा स्थानीय तह चुनावको ठीक अगाडि भारत गएकोमा आपत्ति जनाउँदै ओलीले इतिहासको यो सन्दर्भ कोट्याएका थिए ।

‘भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर भीमदत्त पन्तको टाउको काट्ने काम भयो,’ ओलीले कांग्रेसको भारत साइनो केलाउँदै भने, ‘अलिक भन्न राम्रो लाग्दैन, तर यो सबै नेपाली कांग्रेसले गरेको हो । विदेशी सेना नेपालभित्र बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । नेपाली कांग्रेस यस्तै हो ।’

००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सुदूरपश्चिम क्षेत्रको नेतृत्व गरेका भीमदत्त सक्रिय राजनीतिक व्यक्ति थिए । पूर्णप्रकाश नेपाल ‘यात्री’को किताब ‘सेती अञ्चल दिग्दर्शन’मा उल्लेख भएअनुसार ००७ सालको आन्दोलनमा सुदूरपश्चिम क्षेत्रबाट कार्यकर्ता परिचालन गरेको भन्दै भीमदत्तलाई डडेल्धुरा जिल्लाको गभर्नर पनि बनाइएको थियो ।

००७ सालको परिवर्तनपछि पनि आमनागरिक र किसानको अवस्था परिवर्तन नभएकोमा चिन्तित भीमदत्तले सुदूरपश्चिममा किसान आन्दोलन चर्काएका हुन् ।

सुदूरपश्चिममा ०१० सालको असाररसाउनतिर किसान आन्दोलन चर्काएपछि उनलाई मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले कम्युनिस्ट घोषित गरेको थियो । र, त्यतिखेर कम्युनिस्टमाथि प्रतिबन्ध पनि लगाइएको थियो । कोइराला त्यतिखेर राष्ट्रिय प्रजा परिषद्‌बाट प्रधानमन्त्री भएका थिए ।

तर, अरविन्द रिमालले ‘१९९७ सालदेखि २०१७ साल, एक अवलोकन’ पुस्तकमा भीमदत्त कम्युनिस्ट नभएको लेखेका छन् । बरु भीमदत्त रबिनहुड थिए । दीनदुःखीका मसिहा थिए । रिमाल लेख्छन्, ‘हाम्रो धेरै प्रयासपछि पनि उनी राजनीतिक अध्ययनमा इच्छुक हुन सकेनन् । कम्युनिस्ट पार्टीको कार्यक्रमले पनि उनलाई आकर्षित गर्न सकेन । उनी त्योभन्दा धेरै अघि बढ्न चाहन्थे । उनी शब्दको सही अर्थमा रबिनहुडजस्ता थिए । दीनदुःखीहरूको हितैषी, मित्र एवं मुक्तिदाता ।’

भीमदत्तले कञ्चनपुरको ब्रह्मदेव मण्डी कब्जा गरेर त्यहाँ राखिएको नुन नागरिकलाई बाँडेका थिए । त्यही कारण उनलाई रिमालले ‘रबिनहुड’को उपमा दिएका हुन् ।

सुदूरपश्चिममा भीमदत्तले ठूलाठालु जमिनदारविरुद्ध किसान आन्दोलन चलाएपछि त्यसको असर काठमाडौंसम्म पर्‍यो । रिमाल लेख्छन्, ‘०१० सालको असार साउन महिनामा नेपालको सुदूरपश्चिमको घनगढी शोषित पीडित किसानहरूका प्रचण्ड आन्दोलनले हल्लियो र त्यसको असर राजधानी काठमाडौंमा पनि पर्‍यो ।’

तत्कालीन प्रधानसेनापति किरण शमशेर राणाले त भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई ५ हजार रुपैयाँ इनाम दिने घोषणा गरे । गृष्मबहादुर देवकोटाकृत पुस्तक ‘नेपालको राजनीतिक दर्पण – १,’ मा लेखिएअनुसार यो घोषणा गर्दा प्रधानसेनापति राणा भारतको बरेलीमा थिए ।

भीमदत्तलाई नेपाली सैनिकले मात्र पक्राउ गर्न नसकेपछि नेपाल सरकारले भारत सरकारको सहयोग माग्यो । देवकोटा लेख्छन्, ‘०१० साल आषाढको सुरुदेखि सुदूरपश्चिम नेपालमा भीमदत्त पन्तद्वारा अशान्तिको वातावरण सुरु भयो । यस अशान्तिको दम निमित्त नेपाल सरकारले भारतबाट सशस्त्र सैनिक ल्यायो र नेपाल भारत संयुक्त सैनिक कारबाही गरायो ।’

‘१५ जुलाई ९३२ असार ०१०० संयुक्त कारबाही गर्न भारत र नेपालको सैनिकले नेपालको स्थलमा प्रवेश गरिसकेको थियो,’ भीमदत्तलाई मार्न भारतीय सैनिक नेपाल छिरेको विषयमा देवकोटा लेख्छन्, ‘भाारतीय फौजले दुई नेपालीलाई मारे, ५० जना नेपालीलाई घाइते पारे र २७२ नेपालीलाई पक्राउ पारे । तर, भीमदत्त पन्तलाई पक्रन सकेनन् ।’

तर, यो पहिलो आक्रमणमा भीमदत्तलाई भारतीय सैनिकले पक्राउ गर्न सकेनन् । भारतीय सैनिक परिचालन गर्दा पनि पक्राउ गर्न नसकेपछि भीमदत्तलाई जिउँदै वा मृत ल्याउनेलाई इनाम घोषणा गरियो । ‘बरेलीमा बसेका नेपालका प्रधानसेनापतिले रु ५००० इनामको घोाषणा गरेर जसले भीमदत्तको जिउँदै या मरेको लास ल्याउँछ, त्यसले पुरस्कार पाउँछ भने ।’

पहिलो आक्रमणमा भीमदत्तलाई पक्राउ गर्न असमर्थ भएपछि भारतीय सैनिक अझै केही दिन नेपालमा बस्ने समाचार प्रकाशित भएको देवकोटाले ‘नेपालको राजनीतिक दर्पण – १’ मा लेखेका छन् ।

‘भीमदत्त र उनका मुख्य साथीहरूलाई पक्रन कठिन छ र सुव्यवस्था ल्याउन धेरै दिन लाग्दछ यसै कारणले धेरै दिनसम्म भारतीय फौजले नेपालमा बस्नुपर्दछ भन्ने समाचार प्रकाशित भयो,’ देवकोटा लेख्छन् ।

अरविन्द रिमालले पनि ‘१९९७ सालदेखि २०१७ साल, एक अवलोकन’मा शान्ति सुरक्षाको प्रश्न उठाउँदै नेपाल सरकारले पन्तलाई मार्न भारतीय सेना दोस्रो पटक नेपाल ल्याएको लेखेका छन् ।

अन्ततस् १७ साउन २०१० मा भीमदत्तलाई भारतीय सैनिक र नेपाली सैनिकको संयुक्त फौजले मार्‍यो । भीमदत्त मारिएको समाचारबारे देवकोटा लेख्छन्, ‘०१० श्रावण २० गतेका दिन ‘पश्चिम सीमान्त जिल्ला डडेल्धुराको जंगलमा सरकारका तर्फबाट खटिएका दमनकारी सैनिकहरूका बीच गोली हानाहान हुँदा भीमदत्त पन्त मारियो’ भन्ने समाचार प्रकाशित भयो ।’

भीमदत्तको हत्यापछि काटिएको टाउको र शरीर भारतीय फौजले डडेल्धुरा बजारमा प्रदर्शन गरेको लेखेका छन् रिमालले । उनी लेख्छन्, ‘पश्चिमी सीमान्त जिल्ला डडेल्धुराको जंगलमा टाउको काटिएको र गोली हिर्काएर छियाछिया पारिएको भीमदत्त पन्तको शरीरलाई भारतीय फौजहरूको मद्दतबाट नेपाली फौजहरूले प्रदर्शनसमेत गरे ।’

भीमदत्त मारिएपछि भारतीय सैनिक भारत फिरेको कुरा पनि देवकोटाले लेखेका छन् । उनी लेख्छन्, ‘०१० श्रावण २७ गते पश्चिम नेपालमा भीमदत्त पन्तद्वारा सञ्चालित विद्रोहीहरूको दमन गर्नाका निमित्त नेपाली फौजहरूसित मिली संयुत्त कारबाही गर्न गत महिनामा गएका उत्तर प्रदेश ९भारत०का सैनिकहरू पश्चिम नेपालबाट उत्तर प्रदेशतर्फ फर्के ।’

भीमदत्त पन्तलाई मार्न भारतीय सैनिक परिचालन गरिएको विषयमा सुदूरपश्चिममा गीत पनि रचिएको छ । पूर्णप्रकाश नेपाल ‘यात्री’ ले आफ्नो किताब ‘सेती अञ्चल दिग्दर्शन’मा उक्त गीत संकलन गरेका छन् ।

‘एकलो भीमदत्त कताकता धाऊँ
ताहैत भीमदत्त वडेहाका गाउँ
शान्ति अशान्ति जनताका रोज
आइपुग्यो भारती भीमदत्त खोज
भीमदत्त पन्तले पाइहाल्यो चाल।।।।।’

नेपाल सरकारको आग्रहमा भारतीय सेना नेपाल आएको यो पहिलोपटक थिएन । २००८ मा डा. के.आई. सिंहको विद्रोह दबाउन पनि भारतीय सेना नेपाल ल्याइएको थियो । सिंहको विद्रोह दबाउन भारतीय सैनिक नेपाल बोलाउँदा प्रधानमन्त्री मोहनशमशेर थिए भने गृहमन्त्री बीपी कोइराला । शिलापत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array