सुर्खेत, जुम्ला र दाङ टरीगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न २१ करोड बजेट विनियोजन

होस्ट खबर १९ फाल्गुन २०८१, सोमबार
3 Min Read
Aa

सुर्खेत : संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले सुर्खेत, जुम्ला, दाङका विमानस्थल विस्तारका लागि तत्काल २१ करोड बजेट विनियोजन गरेको छ । सुर्खेत विमानस्थलका लागि १० करोड, दाङ टरीगाउँ विमानस्थलका लागि एक करोड र जुम्ला विमानस्थल जग्गा अधिग्रहणका लागि १० करोड बजेट विनियोजन गरेको हो ।

सुर्खेत विमानस्थल विस्तारका लागि मन्त्रालयले थप ४ अर्ब ९० करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे छ । धावनमार्गलाई १५५५ मिटर पुर्‍याउन ३० बिगाह जग्गा अधिग्रहणको प्रकृया सुरु गरिएको हो । कर्णाली प्रदेश सरकारले जनप्रतिनिधिलगायत सरोकारवालाहरुसँग छलफल गरी विमानस्थललाई प्रदेशस्तरीय बनाउनका लागि धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहणको तयारी गरिएको छ । विमानस्थललाई रात्रिकालीन उडान भर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने भएको छ ।

त्यसतै जुम्ला विमानस्थलका लागि भने मन्त्रालयले थप ४० करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे छ । जुम्ला विमानस्थल हाल छ सय ७० मिटर लम्बाइ, २० मिटर चौडाइसम्म छ । विमानस्थलको धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने भएको छ । अप्रोनदेखि जहाजसम्म जाने बाटो, ट्याक्सीलगायतका संरचना निर्माण हुनेछन् । जुम्ला विमानस्थलमा नियमितरुपमा १६ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकामा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज पनि सञ्चालनमा आउने आशा गरिएको स्थानीयवासी हर्क शाहीले बताए । विमानस्थल विस्तारपछि जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल बताए ।

साथै दाङको टरीगाउँ विमानस्थलका लागि मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाज समेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताइन् । उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन समेत गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्