नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले ? देउवाका उत्तराधिकारी को बन्लान् ?

होस्ट खबर २० माघ २०८१, आईतवार
10 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेसमा पार्टीको १५ औं महाधिवेशनको तिथिलाई लिएर फेरि बहस र विवाद सुरु भएको छ । कतिपय नेताहरु महाधिवेशन लक्षित अभियानमा लागिसकेका छन् । कतिपय कित्ता फेरेर आफ्नो सुरक्षा खोजिरहेका छन् । तर केही नेताहरु भने महाधिवेशन नै पर धकेल्नुपर्ने पैरवीमा जुटेका छन् ।

सांसद नारायण खड्काले गत शुक्रबार संसदीय दलको बैठकमा अनायासै महाधिवेशन पर धकेल्नुपर्ने प्रस्ताव राखे । जबकि संसदीय दल महाधिवेशनबाट निर्णय गर्ने थलो थिएन । उनलाई कुन सन्दर्भमा त्यो प्रस्ताव त्यहाँ गर्नु उचित लाग्यो र महाधिवेशनसँग डराउनुपर्ने अवस्था किन आयो ? आश्चर्यजनक छ ।

उनले बैठकमा महाधिवेशन अझै तीन वर्ष धकेल्ने प्रस्ताव गरे मात्रै गरेनन्, आम निर्वाचनको प्रसंग पनि निकाले । पहिला आम निर्वाचन गर्ने र त्यसपछि महाधिवेशन गर्ने उनको प्रस्ताव थियो । उनको प्रस्तावमा केही नेताहरूले साथ दिए ।

कांग्रेसको विधानअनुसार हरेक चाररचार वर्षमा पार्टी महाधिवेशन हुनुपर्छ। यसअनुसार ०८२ मा पार्टी महाधिवेशन हुनुपर्ने हो । तर अहिलेसम्म कुनै पनि महाधिवेशन समयमा भएको छैन । हालका सभापति शेरबहादुर देउवा विधानतः अब सोही पदमा उठ्न पाउँदैनन् । किनभने २ कार्यकालभन्दा बढी सभापति बन्न नपाइने विधानको व्यवस्था छ । अहिलेसम्म पार्टीमा उनको ८० प्रतिशतभन्दा बढी नियन्त्रण छ । उनी सभापति बन्न नपाउने भए पनि उनको उत्तराधिकारी को हुने भन्ने यकिन छैन । उनको गुटबाट उत्तराधिकारी बन्न तीव्र प्रतिस्पर्धा छ । उनलाई खुसी पार्न र कार्यकाल लम्ब्याउन पनि कतिपय नेताहरु महाधिवेशन लम्ब्याउने अस्त्र फालिरहेका छन् ।

तर रोचक यो छ कि पछिल्लोपल्ट देउवाको काखमा पुगेर उनलाई खुसी पार्न खोजिरहेका महामन्त्री गगन थापा भने महाधिवेशन २०८४ को चुनावअघि नै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको बताउँदै छन् । शनिबार आयोजित पार्टीको काठमाडौँ महानगरपालिका– ७ को सम्मेलनमा बोल्दै उनले केही नेताहरुले चुनावपछि पनि महाधिवेशन गर्दा हुने भनेर बोलेको भए पनि सार्न संविधानले पनि नदिने तर्क गरे ।

उप-सभापति पूर्णबहादुर खड्काका लागि १५औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने आकांक्षा अस्वाभाविक देखिँदैन । उनले सभापति देउवाको उत्तराधिकारी भएर अब तयारी गर्ने आकलन पनि हुने गरेको थियो ।

पार्टी विभाजन हुनुअघिरपछि सभापतिलाई निरन्तर साथ दिँदै आएका खड्का देउवाको समर्थनमा उम्मेदवार बन्न सक्लान् ? उनले विगतमा देउवालाई पुर्‍याएको सहयोगको आधारमा संस्थापन समूहबाट उनी निर्विकल्प सभापतिको उम्मेदवार हुनुपर्ने हो ।तर परिस्थिति उनले सोचेजस्तो सहज देखिँदैन । देउवाको समर्थनमा खड्का सभापतिको प्रत्यासी हुन पाउनेमा निकै ठूलो संशय कांग्रेस पंक्तिभित्र देखिन थालेको छ ।

खड्काले राख्ने चाहना स्वभाविक भएको भन्दै त्यसै अनुसार आशा गर्न सुझाउने पनि उत्तिकै छन् । कांग्रेस नेता रामहरि खतिवडा १५ औं महाधिवेशनमा सभापतिमा खड्कालाई देउवाले समर्थन गर्ने आशा राख्छन् ।

खतिवडा भन्छन्, ‘अहिले नै भन्नु अलि हतार होला । सभापति बाहेकका मुख्य मुख्य पदमा उहाँले जिम्मेवारी लिइसक्नु भएको छ । सभापति उम्मेदवार उहाँका लागि अब स्वभाविक हो । सभापति देउवाले अघि नसार्ने भन्ने होला र ?’

संस्थापन पक्षका केही नेताहरुका अनुसार देउवाको टीमको नेतृत्व गरेर सभापतिको उम्मेदवार खडका हुने सम्भावना क्षिण छ । देउवा टीमको नेतृत्व गरेर आफूलाई उठाउँदैनन् भन्ने खड्काले संकेत पाइसकेको संस्थापन पक्षका उपल्लो तहका एक नेताले दाबी गरे ।

उनका अनुसार संगठनको बल खड्कासँग नभएकाले देउवा उनलाई अघि सार्न तयार हुँदैनन्। ‘सभापतिले मुख खोल्नुभएको छैन। शेरबहादुर दाइका गतिविधि हेर्दा पूर्णबहादुरलाई आफ्नो समूहको उम्मेदवार बनाउलान् जस्तो म देख्दिनँ,’ कार्यसम्पादन समितिका एक सदस्य भन्छन्, ‘सभापति पूर्णबहादुरसँग भन्दा अहिले डा।शेखरसँग नजिक भएजस्तो देखिन्छ ।’

ती नेताका अनुसार पूर्णबहादुरलाई देउवाले आफ्नो समूहबाट अघि बढाउन नचाहनुमा संगठनमा कमजोर र आफूले भने अनुसार नगर्ने आशंका उनलाई छ ।

देउवा समूहमा रहेका खड्काले समूहभित्र उपसमूह बनाउन लागेनन् । पूर्व नेता खुमबहादुर खड्का नजिकका नेता कार्यकर्ताहरु उनीसँग जोडिए पनि त्यो तागतलाई आफूसँग राख्न सकेनन् । ती नेताहरु पनि आफूसँगै राख्न सकेनन् ।

पूर्व नेता खड्का निकट रहेकाहरु पुष्पा भुसाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल लगायतलाई आफ्नो पकडमा राख्न सकेनन् । उनीहरु पनि देउवासँग नजिकिए । नेताहरुको अनुसार उनको पक्षमा मुखरित हुने केन्द्रीय सदस्य वा भ्रातृ संस्थाका प्रमुख पार्टीमा यतिबेला कोही देखिन्नन् । १४ औं महाधिवेशनमा खड्काले गृह प्रदेशबाट संस्थापनलाई शक्तिशाली बनाए । तर, त्यो शक्ति उनले भने अनुसार परिचालित हुने अवस्था भने नरहेको कर्णाली प्रदेशका नेताहरु बताउँछन् ।

कर्णालीमा संस्थापन पक्षका नेताहरुमा जीवनबहादुर शाही, राजीवविक्रम शाह, जानकी सिंह, कान्तिका सेजुवाल लगायत छन् । संस्थापन पक्षमा रहेका उनीहरुले खड्कालाई साथ दिनेरनदिनेमा नेताहरु आशंका राख्दछन् ।

देउवाका विश्वासपात्र खड्का २०७५ बैशाखमा मनोनित महामन्त्री बने । १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री डा. शशांक कोइराला भन्दा पार्टी सञ्चालनमा उनी हाबी देखिए । संस्थापन पक्षका विमलेन्द्र निधि १४ औं महाधिवेशनमा सभापतिको प्रत्याशी हुँदा उनले उपसभापतिमा जिते ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्रीमा डा. प्रकाशशरण महत पराजित हुँदा संस्थापनमा उनको शक्ति थप बढने अवस्था बन्यो । पार्टी वरियतामा देउवा पछिको स्थान उनकै छ । उपसभापतिमा निर्वाचित धनराज गुरुङका भन्दा पार्टीभित्र र बाहिर उनको क्रियाशीलतता प्रभावशाली देखिँदै आएको छ ।

पार्टीभित्र कडा स्वभावका नेताका रुपमा खड्कालाई चित्रण गरिन्छ । आफूले साथ पाउने लालसामा नेता कार्यकर्तासँग विनम्र हुने उनको प्रवृत्ति नहरेको पार्टी नेताहरु बताउँछन् । ‘तितो सत्य भन्ने व्यक्ति सबैको प्रिय हुन सक्दैन । उहाँले पार्टी कार्यकर्तालाई गलत कार्यमा कहिले आड भरोसा दिनुभएन । त्यसले गर्दा समूह उप समूह बनाउन सक्नुभएन,’ संस्थापन पक्षका नेता भन्छन् । खड्काको दुर्बल पक्षमा जिल्ला भ्रमणमा कम पुग्नु पनि रहेको नेताहरु बताउँछन् ।

खड्कालाई भावी सभापतिका रुपमा देउवाले देख्न नचाहेको पछिल्ला घटनाक्रमले समेत संकेत गरेको नेताहरु दाबी गर्छन् । खड्का नेतृत्वमा रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पूर्णता पाउन नसक्नुमा देउवा नै कारक रहेको ती नेता बताउँछन् । उक्त प्रतिष्ठानमा निर्देशक बाहेक अन्य सदस्य मनोनित हुनसकेका छैनन् ।

प्रतिष्ठानलाई पूर्णता प्रदान गर्न सभापतिको परामर्श विना सम्भव हुँदैन । सभापतिले खड्कालाई वेवास्ता गरेको अर्को सन्दर्भ लुम्बिनी सम्मेलनलाई उदाहरण पार्टी भित्र दिने गरिएको छ । लुम्बिनी सम्मेलनमा आफ्नो वरियता भन्दा माथि डा।शेखर कोइराला राखेकाले उनी सहभागी नभएको नेताहरु बताउँदै आएका छन् ।

कांग्रेस नेताहरुका अनुुसार खड्काका लागि दुईवटा बाटो छन् । पहिलो, हरसम्भव देउवाको समर्थनको उम्मेवार बन्ने । दोस्रो, देउवाले समर्थन नगरे अर्को समीकरण बनाउने । खड्कालाई सजिलो बाटो पहिलो हुनेछ । तर, त्यसका लागि उनी समूहभित्र सर्वस्वीकार्य हुन भने कठिन छ । कदाचित् देउवाको समर्थनको उम्मेदवार हुन नसक्ने अवस्थामा खड्काले दुई महामन्त्रीलाई साथ लिएर नयाँ समीकरण बनाउने सोंचमा उनी रहेको संस्थापन पक्षका कतिपय नेता दाबी गर्छन् ।

देउवाको समर्थनमा सभापति उम्मेदवार नहुने अवस्था बन्यो भने पनि उनी पछि नहट्ने कतिपय नेतालाई जानकारी गराइसकेका छन् । उपसभापति खड्कासँग भएको संवादबारे एक नेता भन्छन्, ‘कि सभापतिमा उठ्नुपर्‍यो कि राजनीतिबाट सन्यास लिनुपर्‍यो भन्नुहुन्छ । उपसभापतिमा दोहोरिन्नँ, केन्द्रीय सदस्यमा उठ्दिनँ भन्नुभयो ।’

सभापतिमा उम्मेदवार बन्ने संकेत गरिसकेका खड्का र दुई महामन्त्री गगन थापा अनि विश्वप्रकाश शर्माबीच नजिकपन बढेको पार्टीभित्र टिप्पणी हुने गरेको छ । १४ औं महाधिवेशन अघि महामन्त्री रहेका खड्का र पार्टी प्रवक्ता रहेका शर्माबीचको निकटता त्यतिबेला नै चर्चामा रहेको थियो । खड्का र शर्माको निकटता रहेको प्रसंग देउवा प्रधानमन्त्री भएलगत्तै भएको एउटा प्रकरणले पनि पुष्टि गर्दछ । ‘मलाई देउवा मनपर्छ किनभने,’ भिडियो प्रचारको खड्का र शर्माले विरोध जनाएका थिए ।

खड्काले अर्का महामन्त्री गगन थापासँग पनि सम्बन्धलाई सुमधुर बनाएको चर्चा कांग्रेसमा हुने गरेको छ । गत महासमिति बैठकमा प्रतिवेदन तयार गर्दा एक अर्काको सर सल्लाहमा प्रतिवेदन तयार गरिएको थियो । ‘देउवाले पूर्णबहादुरलाई सभापतिको उम्मेदवार नबनाएको अवस्थामा दुई महामन्त्रीको साथ रहने सम्भावना पनि छ,’ संस्थापन पक्षका एक केन्द्रीय सदस्य दाबी गर्छन्, ‘महाधिवेशन आउन समय धेरै बाँकी छ । त्यस बेलासम्म समीकरणहरु उस्तै रहँदैनन् । खड्काको नेतृत्वमा अर्को समूह बन्ने र त्यसमा दुई महामन्त्री र रमेश लेखक जोडिए आश्चर्य नमान्नुहोला ।’ त्यसका लागि खड्काको चाहना अनुसार दुई महामन्त्री तयार भए भने मात्रै त्यो समीकरण सम्भव हुने उनले बताए ।

‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ,’ थापाले भने, ‘तर त्यो गर्नै मिल्दैन। महाधिवेशन सार्न संविधानले पनि दिँदैन। एक महाधिवेशनबाट अर्को महाधिवेशन बीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन।’

उनले अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्ने जिकिर गरे। ‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदै पाइँदैन,’ थापाको भनाइ छ, ‘त्योभन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ। अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ।’

यसो भन्नुको तात्पर्य हो– अब देउवाले टिकट बाँड्न पाउनुहुँदैन । उनको नेतृत्वमा चुनावमा जानु हुँदैन । आउँदो महाधिवेशनमा गगन पनि सभापतिका दाबेदार हुन् । यसअघि विभिन्न नेताको निकट रहेर महामन्त्रीका उम्मेदवार बनेका गगन यसपालि कसको साथ लिन्छन् र कुन कित्तामा उभिन्छन् भन्ने ठेगान छैन ।

आफै सभापति उठ्ने भएपछि अब उनीभन्दा कोही वरिष्ठ नेताहरु अर्थात् कुनै पनि दाइहरुले साथ दिने सम्भावना क्षीण छ । हुँदाहुँदा अब देउवाको उत्तराधिकारी बन्ने सम्भावना पनि पछिल्लो अभिव्यक्तिले समाप्त पारेको संकेत गरेका छन् । यसले महाधिवेशन नआउँदै कांग्रेस नयाँ प्रकारको किचलोमा प्रवेश गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्