सुर्खेतमा बर्सेनि बढ्दै क्यान्सरका बिरामी

होस्ट खबर ३१ श्रावण २०८१, बिहीबार
2 Min Read
Aa

सुर्खेत : सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा सुर्खेत जिल्लामा एक सय दश जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।

सहुलियतका लागि गत वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख बजेट पठाएको छ । यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ ।

गत वर्ष एक सय ३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । गत वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट एक सय ३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिइएका छन् ।

अब सुर्खेत जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्य अनुरूप जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट क्यान्सरका रोगीले उपचार पाउने भएका हुन् । संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्