कर्णाली सरकारले बजेट कार्यान्वयनका लागि ९ बुँदे प्रतिवद्धता जाहेर गर्यो

होस्ट खबर ११ श्रावण २०८१, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ९ बुँदे साझा प्रतिवद्धता जाहेर गरेको छ। बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना तयारी सम्बन्धी गोष्ठीबाट उक्त प्रतिवद्धता जाहेर गरिएको हो।

प्रतिवद्धताहरु प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान, कार्यान्वयन अवधि तथा विधि, बजेट आदि) साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्ने, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरु सम्वत् भादौ मसान्तभित्र तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्ने रहेका छन्।

यस्तै, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरु सम्वत् असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै वहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, महालेखा परीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फछ्र्यौट सम्वत् साउन मसान्तभित्र कार्ययोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयका स्रोतहरुको पहिचान गरी राजश्वौमा वृद्धि गर्ने, आयोजना÷कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समयवद्ध र पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गरिएको छ।

यस्तै, बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभावकारी र नतिजामूलक अनुगमन गर्ने, उपलब्ध स्रोत र साधनको मितव्ययी र कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउने, आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमासिक देखि सुरुवात गरी समयवद्ध रुपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने सझा प्रतिवद्धता सरकारले गरेको छ। उक्त गोष्ठीमा कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रमुख सचिव, मन्त्रालयका सचिव र मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्