सुर्खेत : प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले शक्ति र पहुँचको भरमा सारिएका कार्यालयको विरोध जनाउँदै विमानस्थल सार्ने नीति कार्यान्वयन हुननसक्ने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली एक्स्पोको-२०८० उद्घाटन सत्रमा बोल्दै उनले सत्ता र शक्तिको भरमा मुलुक चलाउन नपाइने धारणा व्यक्त गरेका हुन्। उद्घाटन समारोहमा नेपाली कांग्रेसका उपसभापति, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथि थिए। कर्णालीका मुख्यमन्त्री, सांसददेखि विभिन्न राजनीतिक दलका नेताहरूलाई विशिष्ट अतिथिका रूपमा बोलाइएको थियो।
कर्णालीको कांग्रेस राजनीतिमा खड्का र थानीलाई पार्टीभित्रका ‘गुट लिडर’ का रूपमा लिइन्छ। खड्का प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् भने थानी २ बाट प्रतिनिधित्व गर्छन्।
वीरेन्द्रनगरमा भएको पुरानो विमानस्थललाई विस्तार गर्नुको साटो पूर्वी क्षेत्रमा नयाँ विमानस्थल निर्माण गर्न पहल गरिरहेको आरोप उपप्रधान तथा रक्षामन्त्रि खड्कालाई लगाए।
सुर्खेतमा भएको विमानस्थलमा वृक्षरोपण गरेर, अर्को ठाउँमा १८ हजार बिरुवा मासेर नयाँ विमानस्थल बनाउन खोजिएको छ, यो नीति कसले लिएर आयो ? भेरी करिडोरको कार्यालय वीरेन्द्रनगरमा थियो, त्यसलाई आज बोटेचौरमा पुर्याइएको छ,’ उपप्रधान तथा रक्षामन्त्रि पूर्णबहादुर खड्कालाई इंगित गर्दै थानीले भने, ‘सुर्खेतको घाट गाउँदेखि डोल्पासम्मको विकास लक्ष्य राखिएको करिडोरको कार्यालय वीरेन्द्रनगरबाट भाडा तिर्नेगरी अन्यत्र सारिएको छ, शक्ति र पहुँचका भरमा कार्यालय सार्ने काम नगरौं। यस्तो गर्नुपर्ने हो भने सर्वदलीय बैठक बसौं, सबै नेताहरूलाई बोलाऔं। यसरी सहमतिमा कुनै कार्यालय जुम्ला वा हुम्ला लिनुपर्छ भने मेरो आपत्ति छैन। तर शक्तिका भरमा मुलुक चलाउन पाइँदैन।’
मन्तव्यकै क्रममा पहुँचका भरमा अन्यत्र सारिएका कार्यालयहरूलाई प्रदेश राजधानी वीरेन्द्रनगरमा फर्काउन आफूले टोलदेखि संसदसम्म कुरा राख्ने प्रतिवद्धता पनि थानीले जनाए।
उनले संसदमा बुद्धिमतापूर्ण निर्णय नगर्दा कर्णाली प्रदेश स्थापना गर्न चार जनाले ज्यान गुमाउनुपरेको टिप्पणीसमेत गरे।
उनले अगाडि भने, ‘यो कर्णाली प्रदेश सहिदहरूले आफ्नो रगत बगाएर आएको हो, हामीले बुद्धिमतापूर्ण तरिकाले संसदबाटै समाधान गरेको भए चार जनाले ज्यान गुमाउनुपर्ने थिएन, माथिका निर्णय मान्दैनौं भनेर सडकमा उत्रिएर गोली खाएर स्थापना गरेको प्रदेश हो।’
उनले विकासको श्रेय म मात्र लिन्छु भनेर कोही अघि बढ्नु गलत भएको टिप्पणी गरे।
कर्णालीको विकासका लागि सबै दल एक भएर अघि बढ्नुपर्ने सुझाउँदै थानीले सबै राजनीतिक दलका मानिस एक ठाउँमा बसेर सल्लाहमार्फत् प्रदेशको विकासका लागि चाहिने कुरा केन्द्र सरकारसमक्ष पेश गर्नुपर्ने बताए।
कर्णालीको विकासको गति सुस्त भएको छ। कर्णालीका लागि छुट्टै लगानी सम्मेलन गर्ने, कर मिनाहा जस्ता नमुनाका कुरा गर्ने वातावरण बनाउन सुझाव दिए। व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएको छैन। आफू राज्य व्यवस्था समितिमा हुँदा भएका एनसिएल जस्ता काण्डहरुको उदाहरण दिँदै यही अवस्थाले मुलुक सुध्रिने अवस्था नरहेको उनको भनाई थियो ।












प्रतिक्रिया दिनुहोस्