कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीय सरकारबाट विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गरेका छन् । १६ औँ योजनाका लागि सुझाव लिन बुधवार राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यस्तो गुनासो गरेका हुन् ।

१६औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव लिनका लागि आयोग उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा। तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आइपुगेको छ । सुझाव दिने क्रममा मुख्यमन्त्री शाहीले आफ्नो योजना आफै बनाएर द्रुत विकास गर्ने सपना प्रदेश सरकारको रहेको बताए । तर, संघीय सरकारको सहयोग नहुँदा प्रदेश सरकारको सपना साकार हुन नपाएको उनको भनाइ छ ।
‘कर्णाली प्रदेश धेरै पछाडि देखिएको स्पष्टै छ, तर हामी पछाडि परेको होइन, पछाडि पारिएको हो’ मुख्यमन्त्री शर्माले भने, ‘हामीले क्षतिपूर्ति पाउनुपर्छ ।’
आयोगले यसअघि ६ वटा प्रदेशमा पुगेर सुझाव लिइसकेको छ । आयोगले यसअघि कोशी प्रदेशमा आयोग सदस्य डा। आरपी विच्छा, मधेश प्रदेशमा डा। जयकान्त राउत, बागतमी प्रदेशमा डा। प्रभु बुढाथोकी, गण्डकी प्रदेशमा डा।रामकुमार फुयाँल, लुम्बिनीमा डा। रमेशचन्द्र पौडेल र सुदूरपश्चिममा डा।अनिता शाह ढुंगानाको नेतृत्वमा टोली पठाएर सुझाव लिएको थियो । कर्णाली प्रदेशमा भने उपाध्यक्ष श्रेष्ठ आफै सहभागी भएका हुन् ।
आयोग उपाध्यक्ष डा। श्रेष्ठले कम विकास भएको ठाउँले धेरै विकास भएको ठाउँलाई भेट्नुपर्ने बताए । धेरै विकास भएको ठाउँलाई भेट्न कम विकास भएको ठाउँले पाउनु पर्ने भन्दै डा। श्रेष्ठले कर्णाली प्रदेशको पनि द्रुत विकास आवश्यक रहेको बताए । १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै उनले त्यसका लागि नै सबै प्रदेशमा गएर सबै क्षेत्रको सुझाव लिइएको बताए । विगतको भन्दा १६औँ योजना फरक हुने र योजनामा पूरा हुने लक्ष्यहरुमात्रै समावेश हुने समेत उनले बताए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताए । भूकम्पको सन्दर्भमा प्रदेश योजना आयोगलाई समेत सहभागी नगराइ काम भएको भन्दै उनले गुनासो समेत गरे । सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश योजना आयोगलाई पनि सहभागी गराउनु पर्ने उनको भनाइ थियो ।
कुनै समय जिल्लामा एउटा सडक बन्दा निकै खुसीयाली हुनुपर्ने अवस्था रहेको सुनाउँदै उनले अहिले भने गाउँ गाउँमा धेरै योजनाहरू आएको बताए । यो सबै संघीयताको उपलब्धि भएको भन्दै उपाध्यक्ष शाहीले १६औँ योजना पनि सङ्घीयतालाई बलियो बनाउने खालको हुनुपर्ने बताए ।












प्रतिक्रिया दिनुहोस्