सुर्खेत : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीको अवस्था बुझ्न कोशी र बाग्मती प्रदेशका खेलकुद परिषद् सदस्य सचिवहरु कर्णाली आएका छन् । वि.सं. २०८१ मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिदै गर्दा उनिहरु सुर्खेत आएका हुन् ।

डेढ वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न यहाँको निर्माणाधिन रंगशालाको भौतिक संरचनाको अवलोकन गरेका उनीहरुले पत्रकार भेटघाट पनि गरे ।
प्रतियोगिताको समय नजिकिँदै गरेकोले संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले बताए । “कर्णालीमा दशौं खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,” उनले भने, “निर्माणाधिन रंगशालामा ३३ खेलहरुमा २१/२२ सम्म खेलाउन संभव हुन्छ । बाँकी खेलहरु अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रदेश रंगशालाको प्रगति उत्साहजनक भएको बताए । रंगशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्नलायक छ । काम अँझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्याएपनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।

कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले दशवटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको बताए । बसाई वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ” उनले भने, “संरचना निर्माण रातारात भएपनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौं ।
संघीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुखेसो पोख्दै सदस्य सचिव सञ्ज्यालले रंगशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरुमा संरचनाको अभाव रहेको बताए ।
खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधिन रंगशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्