काठमाडौँ : राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेर दुई वटा सन्देश दिएका छन् ।

नयाँ वर्षको शुभकामनाको बहानामा ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपाका ७ जना नेतालाई ‘लन्च मिटिङ’मा बोलाएर राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका हुन् । तर, उनले त्यसलाई आन्दोलन नभई ‘जनताको भावना’को नेतृत्व गर्नुपर्ने शब्दावली प्रयोग गरेका थिए । राप्रपाले आइतबार काठमाडौँमा प्रदर्शन गर्दैछ ।
ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका संयुक्त जनआन्दोलन समितिको गठनप्रति अनविज्ञता प्रकट गरेका छन् । साथै उनले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेको समेत उनले दाबी गरेका थिए ।
तीनकुने घटनामा मान्छे मरेको प्रति शाहले चिन्ता व्यक्त गरेपछि राप्रपा नेताहरूले नवराज सुवेदी संयोजकत्वको समितिबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा शाहले आफ्नो निर्देशनमा नभएको बताए । ‘मैले कुनै समिति बनाउन निर्देशन दिएको या संयोजक तोकेको छैन, कसैलाई जनकमान्डर बनाएको होइन’, शाहको भनाइ उदृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले लोकान्तरसँग भने । सुवेदी नजरबन्दमा परेपछि आन्दोलन समितिको संयोजक डा। जगमान गुरुङ तोकिएका छन् । यसमा पनि आफ्नो कुनै निर्देशन नरहेको शाहले दाबी गरे ।
पूर्वपञ्चको पार्टी राप्रपाका घटकबाट साझा व्यक्ति नभएपछि पञ्चायतकालका मन्त्री सुवेदीलाई संयोजक बनाइएको थियो । सुवेदीको नेतृत्वप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाउँदै आएका थिए । सुवेदीको नेतृत्वको आन्दोलनमा उनी सहभागी समेत भएका थिएनन् ।
सुवेदीलाई संयोजक भनेर प्रचार गरेकोमा ज्ञानेन्द्रले राप्रपा नेताहरू प्रकाशचन्द्र लोहनी र विक्रम पाण्डेप्रति असन्तुष्टि व्यक्त गरेका थिए । पूर्वराजा शाहले दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेको समेत दाबी गरे ।
चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनको अघिल्लो दिन प्रसाईँ निर्मल निवास पुगेका थिए । तर शाहले प्रसाईसँग भेटेको कुरा इन्कार गरेका छन् ।
सरकारले भने पूर्वराजाले कमान्डर तोकेका प्रसाईले हिंसा भड्काएको निष्कर्षसहित त्यसको जबाफदेही पूर्वराजा हुनुपर्ने बताउँदै आएको छ । चैत्र १८ गते प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा तीनकुने हिंसामा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका थिए ।
प्रहरी हिरासतमा रहेका प्रसाईंको बयानका आधारमा सरकारले ज्ञानेन्द्रको संलग्नता बारे निर्क्यौल निकाल्ने तयारी गरेको छ ।
प्रहरीलाई ढुङ्गा नहान, फूल देऊ
पूर्वराजा शाहले मान्छे मारेर आएको व्यवस्था टिकाउ नहुने भन्दै प्रहरीसँग मुठभेड नगर्न आग्रह गरेका छन् । ‘प्रहरीलाइ ढुङ्गा होइन फुल देऊ, मान्छे मारेर आएको व्यवस्था टिकाउ हुँदैन । हामीले सत्ता छाड्दा गरेका पनि कसैको ज्यान गएको थिएन,’ शाहको भनाइ उदृत गर्दै ती नेताले भने ।
शुक्रवार बिहान ११ः५० देखि झन्डै २ बजेसम्म चलेको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरू सहभागि थिए । भेटमा राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही बैठकमा सहभागी थिए ।
ज्ञानेन्द्रले राजसंस्था पक्षधर सबैलाई मिलाएर लैजान लिङ्देनलाई आग्रह गरेका थिए । शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देश र नयाँ वर्षको दिनमा दिएको सन्देश नै देशको अवस्थाबारे आफ्नो धारणा रहेको बताएका थिए ।












प्रतिक्रिया दिनुहोस्