सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ । केही महिनाअघि नै १० औं राष्ट्रिय खेलकुद समयमै नहुने संकेत भएको थियो । आगामी चैतमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ ।

यसअघि मंसिरमा हुने भनिएको प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै चैतमा (२३-३० गतेसम्म) हुने गरी मिति तय गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा मंसिर तेस्रो सातातिर बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको थियो ।
राखेप र खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि गर्नुपर्ने आवश्यक तयारीमा ध्यान नदिँदा प्रतियोगिता तोकिएको मितिमा नहुने भएको हो ।
मन्त्री चौधरीले जेठसम्म प्रतियोगिता हुनसक्ने आकलन गरे । उनका अनुसार शुक्रबार मितिको विषयमा सामान्य छलफल भएको छ । ‘पुनः कहिले समय तोक्ने भन्ने टुङ्गो भने लागेको छैन । प्रधानमन्त्रीसँग सल्लाह गरेर मोटामोटी कहिले गर्न सकिन्छ भन्ने होला,’ चौधरी भन्छन् ।
कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै तेस्रो पटक मिति तय गरिने उनले बताए । ‘छलफलमा वैशाखको अन्तिम साता वा जेठको पहिलो साताबाट गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने,’ निर्णय हुन बाँकी छ ।
त्यसका लागि एक्लै मन्त्रीले गर्न नसक्ने र बोर्ड बैठक बस्नुपर्ने उनले बताए ।












प्रतिक्रिया दिनुहोस्