एच.पि.भी. खोप अभियानले रोक्ने क्यान्सरको बाटो

होस्ट खबर १६ माघ २०८१, बुधबार
4 Min Read
Aa

काठमाडौँ : नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी. खोप देशैभरी एकैसाथ अभियानको रुपमा सञ्चालन गर्न लागिरहेको छ। २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको छ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग अन्तर्गत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचीकृत स्वास्थ्य संस्थाहरुबाट कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन/अध्यापन हुने बिद्यालयलाई खोप केन्द्रको रुपमा स्थापना गरी निःशुल्क रुपमा राष्ट्रीय खोप अभियान सञ्चालन हुँदैछ। महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व सबैको हुन्छ।

भनिन्छ नि, ‘रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस’ ठीक त्यसैको उपज मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ। त्यसैले हरेक स्वास्थ्य संस्थाहरुबाट यो कार्यक्रमलाई निकै संवेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेरिएको छ। एच.पि.भी. खोप अभियान २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सरोकारवालाहरु सहभागी भइ सफल बनाउनु हामी सबैको दायित्व र कर्तव्य हुनेछ।

एच.पि.भी. एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भी. हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच।पी।भी। भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ।

एच.पि.भी. खोपको महत्व

खोप निःशुल्क पाइन्छ, खोप सुुरक्षित छ। खोपले जीवन रक्षा गर्दछ। खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । अहिले एच।पि।भी। खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिँदै आइरहेको छ। त्यसैले यसको प्रभाबकारीता शतप्रतिशतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यत विद्यालय केन्द्रीत खोपकेन्द्रबाट एच। पि।भी। खोप दिइदैछ। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्‍याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ।

१. १० देखि १४ वर्ष उमेरभित्रका किशोरी हरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिने।

२. ३० देखि ४९ वर्ष उमेरका महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परिक्षण (स्क्रिनिङ्ग) गर्ने ।

३. पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने ।

एच.पि.भी. खोप खभियान २०८१ देशैभरी एकैसाथ २०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालनमा रहेको हुनाले आ–आफ्नो पायक पर्ने टोलका विद्यालयमा कहिले चल्दैछ भनेर स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, बिद्यालय नर्स, बिद्यालयका शिक्षक, जनप्रतिनिधी र अन्य सरोकारवालाहरुलाई सोधेर जानाकारी लिऔं तर अभियानमा कोही नछुटौं। यो वर्ष कक्षा ६ देखि १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागिएको एच।पि।भी। खोप एक मात्रा लगाए पुग्दछ । किशोरीहरु महिनावारी भएको बेला पनि यो खोप लगाउन मिल्दछ । यसले नियमित हुने महिनावारी लाई कुनै असर गर्दैन।

खोप लगाउँदैमा महिनावारी छिटो शुरु हुने वा ढिला हुने केही हुँदैन । त्यासैले एच.पि.भी. खोप अभियान चलेको बेलामा केही कारण देखाएर कोही नछुटौं कोही नदाहोरिऔं । यसरी नेपाल सरकारबाट अभियानको रुपमा निःशुल्क बितरण गरीएका सबै महत्वपूर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरु, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासनलगायत सबैको आ-आफ्नो तहबाट सहयोग र सहकार्य रहेमा मात्र राज्यको यो महत्वपूर्ण कार्यको साथर्कता रहन्छ। त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ(आफ्ना बालिकाहरुलाई घातक रोगबाट बचाऔं। स्वास्थ्यखबरबाट 

(पोखरेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्)

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्