काठमाडौं : पछिल्लो केही दिन यता सहकारी प्रकरणले पुन चर्चामा आएको छ । संसदीय छानविन समितिले गत सोमबार संसदमा प्रतिवेदन बुझाएपछि यसले चर्चा बटुलेको हो । मुख्यगरी सहकारी समस्याको छानविन समिति बनेपछि सबैको ध्यान सहकारीको रकम गोर्खा मिडियामा ल्याउन रवि लामिछानेको भूमिका थियो वा थिएन भन्ने आम जनताको चासोको विषय बनेको थियो । प्रतिवेदनको मूलरुप सार्वजनिक भएपछि विभिन्न क्रियाप्रतिक्रियाहरु आएका छन् ।

प्रतिवेदनमा भनिएको छ । संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगीमा सहभागिता नरहेको, तर उनी प्रबन्ध–निर्देशक हुँदा गोर्खा मिडियामा भएको कारोबारको भने जवाफदेही हुनुपर्ने निष्कर्ष निकालेको छ । यसलाई रविले सार्वजनिक रुपमै प्रतिक्रिया पनि दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लैजान रविको कुनै संलग्नता नभेटिएको भन्दै प्रतिवेदन तयार गरेको हो ।
‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ प्रतिवेदनमा थप भनिएको छ ।
कुनै पनि कम्पनीको सेयर सदस्यजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले कम्पनीमार्फत परिचालन भएको रकमको दायित्व पनि ग्रहण गर्नुपर्ने भन्दै समितिले थप स्पष्ट पार्दै भनेको छ, ‘सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ ।’
लामिछाने स्वयम्ले गोर्खा मिडियामा आएको रकममा अनियमितता भएको भेटिए आफू जिम्मेवार रहने स्वीकार्दै समितिको प्रतिवेदनले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि गरिदिएको दाबी गरे । यता संसदीय समितिका सदस्य शिशिर खनालले पनि मंगलबार रास्वपाको राष्ट्रिय भेला कार्यक्रममा बोल्दै भने, पहिला काक्रा चोरेर ल्यायो भन्थे अहिले फेरि चोरेर ल्याएको काक्रो एक चिरा किन खाइस् भन्दै कराउन थालेका छन् ।’ कतिपय ज्ञानका दाताहरुले भने रवि लामिछाने दोषिको भागिदार हुनुपर्ने बताउन पनि थालेका छन् । अब प्रहरीले यसमा कसरी कस्तो अनुसन्धान गर्छ त्यसमा भरपर्ने बताउँछन् । रविले वास्तवमै सफाइ पाए कि कानूनी फन्दामा परे अहिले नै निर्णयगर्न हतार हुने छ ।












प्रतिक्रिया दिनुहोस्