कर्णाली प्रदेशमा एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौट

होस्ट खबर २५ भाद्र २०८१, मंगलवार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिले रु एक अर्ब ३८ करोड बेरुजु फर्छ्यौटसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा समितिले १६ महिनामा गरेका काम कारबाहीको प्रगति सार्वजनिक गरेको हो । समितिका सभापति जीतबहादुर मल्लले प्रदेश सरकारको रु चार अर्ब ३४ करोड १५ लाख कूल बेरुजुमध्ये समितिले रु एक करोड ३८ लाख फर्छ्यौट एवं सम्परीक्षण गर्न सफल भएको बताए ।

‘महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/७९ सम्मको पाँच वर्षमा कर्णाली प्रदेश सरकारको सो रकम बेरुजु देखाएको थियो,’ उनले भने, ‘उक्त प्रतिवेदनमाथि अध्ययन गर्न समितिले मन्त्रालयदेखि अन्य निकायसँग १७ र दफावार छलफल लागि २४ गरी ४१ पटक बैठक तथा छलफल गर्यो । प्रदेशसभा सदस्य सन्तोषी शाहीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेर बेरुजुमाथिको अध्ययनलाई थप प्रभावकारी बनाएका थियौँ, त्यसैको सफलता हो यो ।’

सभापति मल्लले सरोकार भएका सबै व्यक्ति तथा निकाय जवाफदेही भएमा बेरुजु शून्य भएको प्रदेश बनाउन सकिने जिकिर गरे ।

कार्यक्रममा कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले पछिल्लो समय सार्वजनिक लेखा समितिले प्रदेश सरकार र मातहतका निकायलाई गरेको उच्च खबरदारी प्रशंसनीय रहेको बताए । उनले समितिको क्रियाशीलता, निन्तन्तर अध्ययन, अनुगमनले सम्बन्धित निकायलाई जवाफदेही र उत्तरदायी बन्न प्रेरित गराएको धारणा राखे ।

सार्वजनिक विवरणअनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बेरुजु सबैभन्दा बढी रहेको छ । उक्त मन्त्रालयको रु एक अर्ब ७६ करोड ९५ लाख ७५ हजार बेरुजु छ । यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सबैभन्दा कम बेरुजु अर्थात रु पाँच लाख ३२ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । अझै प्रदेश सरकारको बेरुजु रु तीन अर्ब ९४ करोड ८२ लाख ५४ हजार रहेको जनाइएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्