सुर्खेत : दैलेख निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारी कर्णालीको सामाजिक विकासमन्त्री बनेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित सरकारमा कांग्रेसका तर्फबाट भण्डारी मन्त्री बनेका हुन् । भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेका छन् । २०७४ मा दुल्लु नगरपालिकामा मेयरको जिम्मेवारी सम्हालिसकेका भण्डारी २०७९ को आमनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी बनेर आएका थिए । भण्डारी स्पष्ट र बौद्धिक नेताका रूपमा परिचित छन् ।

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा दुल्लु नगरपालिकाको प्रमुख पदका लागि घनश्याम पार्टी कमिटीबाट सर्वसम्मत सिफारिस भएका थिए । एमालेको गढ मानिएको दुल्लु नगरपालिकामा उनी विजयी बने । जबकि २३ सदस्यीय कार्यपालिकामा एमालेका १८ र कांग्रेसका पाँच जना मात्रै सदस्य थिए । घनश्यामले एमालेका प्रतिनिधिलाई विश्वासमै लिएर कार्यकाल सफलतापूर्वक बिताए । नगर प्रमुख हुँदा कोभिडका कारण सोचेजस्तो काम गर्न नसके पनि केही महत्त्वपूर्ण कामको सुरुवात भएको उनी दाबी गर्छन् ।
२०७९ को आमनिर्वाचनमा उनको नाम प्रदेशसभा सदस्यमा सिफारिस भयो । गठबन्धनमा कुन पार्टीले लैजान्छ टुंगो थिएन । तैपनि टिकट पाए जित्ने आत्मविश्वास थियो । गठबन्धनको साझा उम्मेदवार बन्नु उनको जितको प्रमुख आधार बनेको थियो । प्रमुख प्रतिस्पर्धी एमालेका तिलक रिजाललाई १ हजार ३ सय ५ मतान्तरले पराजित गर्दै ३९ वर्षको उमेरमा प्रदेश सांसदको यात्रा तय गरे । त्यो पनि बुवा पूर्णबहादुर भण्डारीका सदावहार प्रतिस्पर्धीलाई हराएर । पूर्णबहादुर र तिलकबीचको हारजित बराबर भए पनि छोरा घनश्यामले पहिलो प्रयासमै जित निकाल्न सफल भए । घनश्याम अहिले कर्णाली प्रदेशसभाका चार विषयगत समितिमध्ये सामाजिक विकास समितिको सभापति भइसकेका छन् ।
यस्तो छ भण्डारीको विगत
२०५६ सालमा विजया मावि दुल्लुबाट एसएलसी उत्तीर्ण भएपछि घनश्याम भण्डारी उच्च शिक्षा पढ्न काठमाडौं हानिए । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भूगोल, संगीत र पत्रकारिता विषय रोजे । आईए पास भए । स्नातक तहमा पढाइ सुरु गरिरहेका बेला उनले ठूलो वज्रपात बेर्होनुपर्यो । बुवा पूर्णबहादुर भण्डारीलाई तत्कालीन सशस्त्र विद्रोही माओवादीले अपहरण गरी वडलम्जीको बालेश्वरमा पुर्याएर हत्या गरे । १२ असोज २०५९ को घटना हो यो ।
पूर्णबहादुर नेपाली कांग्रेस दैलेख क्षेत्र नं २ का सभापतिका साथै दुल्लु गाविसका अध्यक्ष थिए । क्याम्पस पढ्न काठमाडौं हानिएका घनश्याम बुवाको हत्यापछि घरपरिवार सम्हाल्नुपर्ने अवस्थामा पुगे । उनकै काँधमा तीन भाइबहिनी हुर्काउनुपर्ने, पढाउनुपर्ने परिस्थिति सिर्जना भयो ।
पूर्णबहादुर राजनीतिसँगै व्यवसाय गर्थे । दुल्लु भेग (माझखण्ड) मा इमानदार छविका नेता, समाजसेवी र व्यवसायीको नाम लिनुपर्दा सबैको जिब्रोमा यही नाम झुण्डिन्थ्यो । बुवाको हत्यापछि घनश्यामको पढाइ रोकियो ।
दुल्लु बजारमा पसल थियो । पसलको नाम पूर्ण तथा कृष्ण वस्त्रालय । वस्त्रालय भने पनि उनको पसलमा खाद्यान्न, लत्ताकपडादेखि भाँडाकुँडाका सबै सामान पाइन्थ्यो । केही समय पसल हेरे । माओवादी गतिविधि बढेपछि पसलमा भएका सामान पनि सस्तोमै बेचेर काठमाडौं लागे । काठमाडौंमा नागरिक आवाज अभियान चलेको थियो । उक्त अभियानले शान्तिको वकालत गर्थ्यो । घनश्याम पनि यस अभियानमा जोडिए । अभियानमा खटिएबापत उनलाई पकेट खर्चसम्म जुट्थ्यो ।
खर्च अभावले पढाइ रोकिएपछि पत्रकारितामा आकर्षित भए । ‘चुली मालिका’ साप्ताहिक प्रकाशन गरे । दुल्लु माझखण्डमा एकातिर माओवादी ज्यादतीले उग्र रूप लिँदै थियो, अर्कोतिर माओवादी ज्यादतीविरुद्ध स्थानीयवासी संगठित हुँदै थिए । ठाउँ–ठाउँमा दैनिकजसो स्थानीयवासी र माओवादीबीच झडप हुन थाल्यो । स्थानीयले महिला र बालबालिकालाई प्रतिकारको पहिलो लहरमा उतारे । २०६१ कात्तिक–मंसिरमा भएको दुल्लु विद्रोहले राष्ट्रियरअन्तर्राष्ट्रिय चर्चा बटुल्यो ।
दुल्लुबाट सुरु भएको यो अभियानमा माझखण्डका १३ गाविसका बासिन्दासमेत सहभागी बने । कात्तिक २८ देखि दिनदिनै जुलुस निकालियो । त्यतिबेला अधिकांश महिला, बालबालिकाका हातमा भाला र लौरी देखिन्थे । दुल्लु विद्रोहका कारण माओवादी अन्ततः जनतासँग झुक्यो । जनतामाथि दमन गर्ने नेतृत्वलाई पार्टीले कारबाही गर्यो । माओवादीले जनताको मन जित्ने नीति अख्तियार गर्यो । दुल्लु क्रमशः शान्त बन्दै गयो ।
दुल्लु विद्रोहपछि घनश्याम पनि घर फर्किए । सामाजिक सेवा केन्द्र (सोसेक) मा तीन महिना जागिर गरे । असल शासन क्लबसँग जोडिए । क्लबको जिल्ला समन्वय समितिको सचिव भए । असल शासन परियोजनामा झण्डै चार वर्ष फिल्ड कार्यक्रम संयोजकको रूपमा काम गरे । असल शासन क्लबसँग जोडिएपछि उनी सदरमुकाम दैलेख बजारमा नियमित बस्न थाले र त्यहाँ उनले पत्रकारिता र सुशासनको क्षेत्रमा आफूलाई बढी क्रियाशील गराए ।
नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापतिका साथै पत्रकार महासंघको जिल्ला सचिव भए । जिल्लाकै पहिलो पत्रिका ‘धमाका साप्ताहिक’को संस्थापक टिममा रहेर काम पनि गरे । त्यसको केही समयपछि उनले आफ्नै प्रकाशनमा ‘द्रोणाचल साप्ताहिक’ सुरु गरे । द्रोणाचल ४–५ वर्षजति निरन्तर प्रकाशित भयो । यो पत्रिका अहिले बन्द छ । द्रोणाचल प्रकाशनसँगै मिरेस्ट नेपालको जिल्ला प्रतिनिधिका रुपमा काम गरे । त्यसपछि ‘मध्यपहाड’ मासिक म्यागजिन र दुल्लु एफएम पनि सञ्चालन गरे । द्रोणाचल शिक्षा क्याम्पसको सञ्चालक समिति सदस्य बने ।
घनश्यामले पत्रकारिता, सुशासनको अभियानमार्फत दैलेखी जनताको सेवामा लामो समय व्यतित गरे । जनताका समस्या, गुनासो समाधानको पहल गर्नेदेखि गाउँबाट सदरमुकाममा खाना र बास नपाउनेको सहारा बन्न पुगे, घनश्याम । सदरमुकाममा ‘शान्ति भान्सा’ चलाए । अहिलेजस्तो होटल थिएनन्, मानिससँग पैसा पनि हुन्थेन । पश्चिमको पीपलकोट पूर्वको जगनाथ– कट्टी, उत्तरको काशीकाँधदेखि दक्षिणको लालीकाँडासम्मका सर्वसाधारण उनकै भान्सामा निःशुल्क खान पाउँथे । ‘शान्ति भान्सा’मा भात, दाल, सिन्की मात्र पाक्थ्यो । मासु, तरकारी खान मन लागे पाहुनाले आफैँ ल्याउनुपर्थ्यो । त्यसको खर्च संकलन घनश्यामले नै म्यानेज गर्थे ।
भण्डारीको राजनीतिक छलाङ
२०६७ मा भएको कांग्रेसको १२औँ र २०७२ मा भएको १३औँ अधिवेशनमा घनश्याम प्रतिस्पर्धाबाट क्षेत्रीय सभापति चुनिए । १२औँ अधिवेशनमा जग्गेबहादुर शाही, भूपेन्द्रजंग महत, सुरतजंग शाहीसँग उनको प्रतिस्पर्धा भयो । उनीहरू तिनै जना कांग्रेसका जिल्लाका प्रभावशाली नेताको नजिकका उम्मेदवार थिए । तर, घनश्याम निकटतम प्रतिस्पर्धीभन्दा तीन गुना बढी मत ल्याएर विजयी बने ।
१३औँ अधिवेशनमा उनी पुनः क्षेत्रीय सभापतिमा उम्मेदवार बन्न पुगे । मातृकाप्रसाद रिजाल र नवराज शाहीलाई उछिन्दै दोस्रोपटक सभापति चुनिए । दुई कार्यकाल क्षेत्रीय सभापतिका रूपमा पदेन जिल्ला कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएपछि घनश्यामको पकड पार्टीमा झन् बढ्न थाल्यो । युवालाई कांग्रेसको राजनीतिमा प्रोत्साहित गर्दै उनले थुप्रै गाउँ कार्यसमितिमा आफ्ना समकक्षीलाई उम्मेदवार बनाए र जिताए पनि । यसले गर्दा उनलाई कांग्रेस दैलेखको राजनीतिमा शक्तिशाली बन्न मद्दत पुर्यायो ।
१४औँ महाधिवेशनमा संस्थापन खेमाको तर्फबाट उनी जिल्ला कार्यसमितिको सभापति पदमा उम्मेदवार बने । १९ मतान्तरले मणिराम रेग्मीसँग पराजित हुन पुगे । सभापतिमा पराजित भए पनि दैलेखमा संस्थापन (शेरबहादुर देउवा) खेमाको भरपर्दो नेताका रूपमा घनश्याम स्थापित भएका छन् । चतुर, मिलनसार र प्रस्ट स्वभावका उनी सरल जीवनशैलीमै रहन रुचाउँछन् । उनी विपक्षीहरूसँग पनि सहज प्रस्तुत हुने क्षमता राख्छन् । शिलापत्रबाट












प्रतिक्रिया दिनुहोस्