बङ्गलादेशसँग नेपाल २१ रनले पराजित, नेपालको विश्वकप यात्रा समाप्त

होस्ट खबर ४ असार २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौं : नेपाल बङ्गलादेशसँग २१ रन पराजित भएको छ। जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आशिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनैपनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन्।

नेपालका अनिल साह, गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १/१ रन बनाएर पभेलियन फर्के। कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए।

नेपाललाई जितबाट रोक्नका लागि बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए। शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो।

सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्। ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे। महमुदुल्लाह र रिसज होसेनले समान १३/१३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२/१२ रन बनाए। कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए।

बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २/२ विकेट हात पारे।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्