कांग्रेस उपसभापति खड्काले गरे पेट्रोलियम अन्वेषणस्थलको अनुगमन

होस्ट खबर ३१ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

दैलेख : नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषणस्थलको अनुगमन गरेका छन् । चीन सरकारको लगानीमा भइरहेको अन्वेषणको कामको प्रगतिका विषयमा खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले उपसभापति खड्कालाई जानकारी गराएका थिए ।

लुइँटेलले हालसम्म २९६ मिटर ड्रिलको काम सकिएको जानकारी दिए । उनका अनुसार चार हजार मिटरसम्म ड्रिल गर्ने तयारी छ । ‘चारदेखि छ महिनासम्म चार हजार मिटर ड्रिल गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘हालसम्म २९६ मिटर ड्रिलको काम सकिएको छ ।’ लुइँटेलका अनुसार ड्रिलिङका लागि आवश्यक पाइपहरु तयारी अवस्थामा रहेकाले अव काम चाँडो हुने बताए ।

उनले अहिलेनै जमिनमनि पेट्रोलियम पदार्थ कति छ भनेर भन्न नसकिने बताए । पेट्रोलिय पदार्थ अन्वेषणका लागि सन् २०२५ फेब्रुअरीसम्म म्याद थप गरिएको छ । चिनीयाँ टोलीले सुरुमा दैलेखका विभिन्न २५ स्थानमा ड्रिलिङको काम गरेको थियो । त्यसपछि हालको जलजले क्षेत्रमा पेट्रोलियम भण्डारण रहेको अनुमानसहित काम सुरु गरिएको हो ।

सो क्रममा पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले पेट्रोलियम पदार्थ अन्वेषणमा तीन वटै तहका सरकारको साथ र सहयोग रहेको बताए । उनले अन्वेषणको हालसम्मको काम सन्तोषजनक रहेको बताउँदै तोकिएकै समयमा ड्रिलिङको काम पूरा गर्न आग्रह गरे । उपसभापति खड्कासँगै प्रदेश सांसद र स्थानीय नेताहरु पनि पेट्रोलियम अन्वेषणस्थलको अनुगमनका लागि जलजले पुगेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्