भिमाको शव विशेषज्ञबाट परीक्षण गराउनू: जिल्ला अदालत, सुर्खेत

होस्ट खबर २२ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

सुर्खेत : जिल्ला अदालत सुर्खेतले प्रदेश अस्पतालको लापरवाहीले मृत्यु भएको भनिएकी दैलखकी भिमा गुरुङको शवलाई फरेन्सिक मेडिसिनका विशेषज्ञबाट शव परीक्षण (पोष्ट मार्टम) गराउन आदेश दिएको छ । दैलेखको आठबिस नगरपालिका– ५, पीपलकोटकी २२ वर्षीया भिमाका आफन्त न्याय नपाएको भन्दै १६ वैशाखमा अदालत पुगेका थिए ।

मृतकका ससुरा धन मगरले अन्तर्कालिन आदेश माग गर्दै जिल्ला अदालत सुर्खेतमा निवेदन दर्ता गराएका थिए । अदालतमा दायर भएको मुद्दामा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, उपचारमा संलग्न डा. ललितजङ्ग शाहीलगायतलाई विपक्षी बनाइएको थियो । उक्त निवेदन उपर सनुवाइ गर्दै अदालतले निवेदनमा उठाएको विषयवस्तुको गम्भीरता र संवेदनशीलतासमेतलाई हेर्दा मृतक गुरुङको शव परीक्षण (पोष्ट मार्टम) फरेन्सिक मेडिसिनका विशेषज्ञबाट यथाशीघ्र गर्नु उचित देखिएको बताएको छ ।

‘कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकबाहेक फरेन्सिक मेडिसिनका विशेषज्ञ चिकित्सकलाई र मृतकको १ जना प्रतिनिधिलाई संलग्न नगराई मृतकको शव परीक्षण गर्ने कार्य नगर्नू, नगराउनू भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ र जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरकालीन आदेश जारी गरिदिएको छ,’ शुक्रवार जारी अदालतको आदेशमा भनिएको छ ।

२८ चैतमा सामान्य पेट दुखाइसम्बन्धी समस्या भई हिँडेर उपचार गर्न प्रदेश अस्पताल पुगेकी भिमालाई अस्पतालले भोलिपल्ट मृत घोषणा गरेको थियो । सामान्य अवस्थामा अस्पताल आएकी भिमाको मृत्यु भएपछि आफन्तहरू अस्पतालको लापर्वाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै आन्दोलित बनेका थिए । भिमाको शव अस्पतालको शवगृहमा छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array