इलाम-२ उपनिर्वाचन: एमाले, रास्वपा र राप्रपाले अघि सारे युवा उम्मेदवार, कांग्रेस र माओवादी अलमलमै

होस्ट खबर १८ चैत्र २०८०, आईतवार
2 Min Read
Aa

इलाम : वैशाख १५ मा हुने उपनिर्वाचनले इलाम क्षेत्र नम्बर २ अहिले चर्चामा छ । चर्चामा यसकारण पनि छ कि- विगतमा दलका हेभिवेट उम्मेदवारहरु भिड्ने गरेको यो क्षेत्रमा अहिले युवावयका उम्मेदवार प्रतिस्पर्धा गर्ने तयारीमा छन् । पाँचवटा दलले उम्मेदवार टुंगो लगाइसकेको इलाम-२ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका ३२ वर्षीय दुई युवाले प्रचार सुरु गरिसकेका छन् । कांग्रेस र माओवादी केन्द्र उम्मेदवार चयनको प्रक्रियामा छन् ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको गत भदौ २५ मा निधन भएपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो । सत्तारुढ नेकपा एमालेले उनै सुवास नेम्वाङका छोरा ३२ वर्षीय सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुहाङ एमालेको कानुन विभागका सदस्य हुन् । सुहाङले निर्वाचन लक्षित प्रचार गतिविधि पनि अघि बढाइसकेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । पहिचान पक्षधर ३२ वर्षीय मिलन यसअघि पत्रकारितामा सक्रिय थिए ।

कांग्रेस र माओवादी केन्द्रमा उम्मेदवार छान्नै अलमल
नेकपा एकीकृत समाजवादी पार्टीले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ । २०७४ को स्थानीय निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्षमा विजयी उनी २०७९ मा भने पराजित भएका थिए ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष गुरुङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका छन् ।

उता पहिचानवादीहरूले डकेन्द्र थेगिमलाई उम्मेदवार बनाउने तयारी गरिरहँदा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई अघि सारेको छ । त्यस्तै, डकेन्द्र लिम्बू र अर्जुनविक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म उम्मेदवारको नाम टुंगो लगाउन सकेका छैनन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array