प्रधानमन्त्री प्रचण्डलाई तेस्रोपटक विश्वासको मत, निरन्तर घट्दो मत

होस्ट खबर १ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । यद्यपि, विश्वासको मत दिने प्रतिनिधिसभा सदस्यको संख्या पनि निरन्तर घट्दो छ ।

पहिलोपटक २६८, दोस्रोपटक १७२, तेस्रोपटक १५७

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ र विपक्षमा १ सय १० मत प्राप्त भएको छ । बुधबारको बैठकमा २ सय ६८ सांसद उपस्थित र ७ सांसद अनुपस्थित थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १ सय ३८ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।

२१ फागुनमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ पछि १० पुस २०७९ मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपटक २६ पुस २०७९ मा विश्वासको मत लिएका थिए । त्यसबेला उनी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यसबेला उनले प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गर्न सफल भएका थिए । त्यसबेला संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । त्यसबेला उनलाई नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो । त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए । त्यसबेला उनले १ सय ७२ मत प्राप्त गरेका थिए भने विपक्षमा ८९ मत परेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्