दक्षिणको चुनावअघि नयाँ गठबन्धनका लागि उत्तरी-पश्चिमा दबाबसम्म

होस्ट खबर २२ फाल्गुन २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्र फेरि छ वर्षअघिकै स्थितिमा पुगेका छन् । उत्तरी पहलका कारण एमाले र माओवादीबीच फेरि पार्टी एकता गरेर अगाडि बढ्ने योजनाअनुरुप नै अहिलेको नयाँ सत्ता गठबन्धन बनेको दाबी गरिएको छ ।

दक्षिणमा लोकसभाको चुनाव हुँदै गर्दा त्यसअघि नै नेपालमा राजनीतिक परिवर्तन गर्नुपर्नेमा उत्तर लागिरहेको थियो । सोहीअनुसार उत्तरका प्रतिनिधिहरु निरन्तर काठमाडौँमा आई आफ्ना गतिविधिलाई अगाडि बढाइरहेका थिए ।

पुरानो गठबन्धन रहेसम्म दक्षिण विरोधी गतिविधि गर्न कठिन हुने संकेत पाएको उत्तरले सबै हत्कण्डा अपनाएर भए पनि यो नयाँ गठबन्धन गराएको बुझिन्छ । उत्तरले दक्षिणका वरिपरिका धेरैजसो राष्ट्रलाई आफ्नो पकडमा लिइरहेको अवस्थामा नेपाललाई पनि कहीँ न कहीँबाट प्रभावमा पारिरहेको थियो ।

दक्षिणमा नरेन्द्र मोदीको तेस्रो कार्यकाल सरकार हाँक्ने योजना रोक्नका लागि स्वयं दक्षिणकै केही दलहरुले उत्तरसँग साँठगाँठ गरिरहेको छनक पाइरहँदा उत्तरलाई खेल्नका लागि झन् सजिलो बनाइदिएजस्तो भएको छ ।

दक्षिणभित्र खेलिरहेको शक्तिले नै नेपालमा खेलिरहेको बताइन्छ । दक्षिणको चुनावलाई प्रभाव पार्न उत्तरी सक्रियता बढेको विषयमा कुनै दुईमत हुन सक्दैन ।

कांग्रेससँगको गठबन्धन टुक्र्याउन उत्तरले शुरुआतदेखि नै प्रयास गरेको थियो । एमाले, माओवादी र नेकपा एसका नेताहरुलाई उत्तर भ्रमण गराएरै उत्तरले आफ्नो चाहनालाई बलियो बनाएकै थियो ।

त्यसकै उपज यसपालिको नयाँ गठबन्धनलाई लिन सकिन्छ । र यो अब फेरि पार्टी एकतासम्मै पुर्याउन उत्तरले भरमग्दूर प्रयास गर्नेछ । अबको उत्तरको योजना भनेको एमाले र माओवादीमात्र होइन एमालेबाट छुटेर गएका, माओवादीबाट पटक पटक छुटेर गएका र कम्युनिष्टप्रति आस्थाबान सबै पार्टीलाई एक ढिक्का बनाएर लैजानु नै रहेको छ ।

उत्तरको यो इच्छालाई प्रचण्डले सोमबारै सार्वजनिक रुपमै भनिसकेका छन् । यत्ति हो प्रचण्ड स्थित भए भने यो पनि असम्भव होला भन्न सकिन्न । फेरि यसपालि उत्तरमात्र नभइ युरोपियन युनियनले पनि सोही अनुसारको इच्छा देखाएका कारण पनि नयाँ गठबन्धन लामो समय जान सक्ने देखिन्छ ।

महासमिति बैठकबाट हिन्दुराष्ट्रको मुद्दाले युरोपियन युनियन झस्कियो कांग्रेससँग

अहिलेको गठबन्धन परिवर्तन हुनुमा युरोपियन युनियनको हात पनि उत्तिकै रहेको छ । युरोपियन युनियनले हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा उठेको धर्म निरपेक्षताको मुद्दालाई गम्भीर रुपमा लिएको पाइएको छ ।

नेपाललाई फेरि सनातन धर्माबलम्बीहरुको राष्ट्र बनाउनका लागि कांग्रेसको एक पक्ष सशक्त भएर लागिरहँदा अन्य कुनै पनि चलखेल गर्न नपाइने आशंकामा रहेका युरोपेली युनियनका राष्ट्रहरु कांग्रेसलाई कमजोर पार्न सक्ने हो भने आफूहरुको अजेन्डा सुरक्षित हुन सक्ने देखेरै जतिसक्यो छिटो कांग्रेसलाई सत्ता गठबन्धनबाट हटाउन चाहन्थे । जसरी कम्युनिष्टहरु कांग्रेससँग सशंकित भए त्यसरी नै युरोपियन युनियन झस्किनुको परिणाम कांग्रेस बाहेकको नयाँ गठबन्धन बनेको आँकलन गरिएको छ ।

अहिलेको नयाँ गठबन्धनमा राप्रपालाईसमेत समेटेर नलैजाने भन्ने जुन योजना बनेको छ त्यो एमाले वा माओवादीले नचाहेको भन्दा पनि युरोपियन युनियनले चाहेको बोली भएकोसमेत दाबी गरिएको छ । किनकि राप्रपासमेत हिन्दूराष्ट्रको पक्षमा रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्