मध्यरातको राजनीतिक भेटवार्ता, सत्ता गठबन्धन विघटनतर्फ

होस्ट खबर २१ फाल्गुन २०८०, सोमबार
2 Min Read
Aa

सुर्खेत : सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले वैकल्पिक गठबन्धन बनाउने कसरत गरेपछि कांग्रेस सहितको वर्तमान सत्ता गठबन्धन विघटनतर्फ उन्मुख भएको छ । सत्ता समीकरणमा फेरबदल गर्नेगरी आइतबार राति अबेरसम्म राजनीतिक भेटवार्ता चलेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दललाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति कायम गरेका छन् । नेकपा एमाले र रास्वपाको सहभागितामा भएको छलफलमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसलाई ‘बाइकट’ गरिएको तथा विकसित घटनाक्रमले कांग्रेस सम्मिलित वर्तमान सत्ता गठबन्धन विघटन उन्मुख भएको विश्लेषण सुरु भएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका छन् । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव शंकर पाखरेलसहित प्रचण्डसँग छलफल गरेका छन्।

ओली प्रचण्ड छलफल लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन र रास्वपा सभापति रवि लामिछानेबिच छलफल भएको छ । सो छलफलमा सत्ता समीकरण फेरबदलको कुरा भएको छ ।

यसैबीच आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिती आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । महासमिति बैठकबाट माओवादीसँग चुनावी तालमेल नगर्ने तथा माओवादी जनयुद्धलाई अपमान गर्ने खालको दस्ताबेज पारित गरेको भन्दै प्रचण्ड कांग्रेससँग असन्तुष्ट बनेका थिए ।

बिहीबार चितवनमा पुगेर प्रचण्डले शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बाचा विगतमा गरेको भए पनि परिस्थिति फेरिएको बताएका थिए । सोमवार बिहान बस्ने सत्ता गठबन्धनको बैठकमा प्रचण्डले केही महत्त्वपूर्ण निर्णय लिने तयारी गरेको माओवादी स्रोतले बतायो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्