कर्णालीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

होस्ट खबर २० फाल्गुन २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं : कर्णाली प्रदेशमा प्रादेशिक प्रदर्शनी बिहीबारबाट सुरु भएको छ । ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ मूलभावका नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल कमर्सियल आर्टिस्ट संघ सुर्खेत जिल्ला समितिको सहकार्यमा यो प्रदर्शन शुक्रबारबाट सुरु भएको हो । यो प्रदर्शनी शुक्रबारबाट मँगलबारसम्म रहने प्रतिष्ठानका सदस्य सचिब देवेन्द्र थुम्केलीले जानकारी गराएका छन् ।

प्रतिष्ठानले सातै प्रदेशमा गर्न लागेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरू गरिएको पनि थुम्केलीले जानकारी गराए । उनका अनुसार यो प्रदर्शनीमा ४६ जना कलाकारका ६६ वटा कलाकृति समावेश गरिएको छ । कर्णाली प्रदेशको प्रदर्शनी सुर्खेतस्थित जननमुना माविमा फागुन २१ गतेसम्म चल्नेछ ।

प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक समारोहका बीच गरेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलालाई देशव्यापी फैलाउन प्रदेश स्तरीय कला प्रदर्शनीको थालनी गरिएको जानकारी सो कार्यक्रममा गराए । संस्थागत नेतृत्व गर्ने अर्थमा प्रज्ञा–प्रतिष्ठान रहेको तर कला सिर्जना गर्ने कुरामा भने कलाकारहरू नै रहेको उनले बताए ।

समृद्ध समाज निर्माणमा कला र संस्कृतिको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्दै प्रदेश प्रदर्शनीले स्थानीय कलाकारलाई अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वास उनले कार्यक्रममा व्यक्त गर्दै भने,‘प्रदर्शनीलाई विगतमा सिधै केन्द्र भनेर काठमाडौं केन्द्रित गरिएको थियो । अहिले हामीले त्यसलाई फरक ढंगले अगाडि बढाउँदै संघीयताको भाव र मर्मलाई आत्मसात् गर्दै कार्यक्रम गरेका हौं । प्रदेश प्रदर्शनी त्यसैको कडीका रुपमा गरिएको हो ।’ यसपटक सम्मान र मूल्याङ्कनमा पनि विशेष सुुविधा र पुुरस्कार रकम पनि विशेष थप गरिएको बताउँदै उनले कलाको पहिचान प्रदेश र केन्द्रमा मात्र सीमित नगरेर विश्वमा नै चिनाउनु जरूरी भएको बताए ।

उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले कर्णालीमा भएका तमाम प्राकृतिक क्षमता र कलालाई कसरी प्रस्फुटित गर्ने, अभिव्यक्ति गर्ने र यसलाई विश्वसामु कसरी चिनाउने भन्ने कुरा अहिलेको चुनौती भएको बताए । उनले कला र संस्कृतिको विकासविना राज्य समृद्ध बन्न नसक्ने धारणा राख्दै ललितकलाको विकासमा राज्यले यथोचित सहयोग गर्ने बताउँदै भने, ‘कला क्षेत्रलाई माथि उठाउने कुरा सबै मिलेर मात्र सम्भव छ । यसमा कर्णाली प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य गर्न सदैव तयार छ ।’

नेपाली ललितकलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू आशावादी भएको प्रतिष्ठानको कर्णाली समन्वय समितिका संयोजक समेत रहेका कलाकार पाल्साङमो लामाले बताए । समाज रुपान्तरणका लागि कलाको भूमिका विशिष्ट रहने जिकिर गर्दै यसको विकासमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोडमा लामाले जोड दिए,‘प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग गर्नेछ ।’ प्राज्ञ लामाले कलामार्फत सामाजिक जागरण ल्याउने गरी प्रतिष्ठानले काम गरिरहेको सुनाउँदै कलालाई उपार्जनसँग जोड्दै अगाडि बढ्न प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ भने ।

जननमुना माध्यामिक विद्यालयका प्राचार्य याम श्रेष्ठ, जनसांस्कृतिक महासंघ नेपालका कार्यबाहक अध्यक्ष भीम कुमाखी, डा. नवराज केसी लगायतले प्रदर्शनीको महत्वका ’दयगतमा सो कार्यक्रममा प्रकाश पारे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्