कांग्रेस महासमिति बैठक: यस्ता छन् ११ बुँदे निष्कर्ष

होस्ट खबर ११ फाल्गुन २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकले ११ बुँदे निष्कर्ष निकालेको छ। सोमबारदेखि सुरू भएको महासमितिको बैठक बिहीबार सकिएको छ। उक्त बैठकले ११ बुँदे निष्कर्ष निकालेको हो।

बैठकले चार वटा प्रस्ताव पारित गरेको छ। उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगनकुमार थापाको सांगठनिक प्रस्ताव र विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखासम्बन्धी प्रस्ताव पारित भएको हो।

यस्ता छन् महासमिति बैठकको ११ बुँदे निष्कर्ष :

१. नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापति शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ।

२. नेपालको राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरू प्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरू तथा देश, लोकतन्त्र र कांग्रेसका लागि जीवन अर्पित गर्ने सवै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गरेको छ।

३. नेपाली जनताले गरेको पटक(पटकको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गरिएको छ।

४. नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रूपान्तरण गर्ने प्रण गरेको छ।

५. शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जाहेर गरेको छ।

६. नेपाली कांग्रेसको महत्वपूर्ण उपस्थितिसहित निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरूद्ध वैधानिक रूपमै अभियान संचालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्दति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गर्दै, अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारी बोध गरेको छ।

७. मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरूद्ध कार्यक्रम अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

८. तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरूलाई समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने निष्कर्ष छ।

९. किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरूले भोग्दै आएका पीडालाई अविलम्ब समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने जनाएको छ।

१०. महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन्। प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीन वटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गरेको छ।

साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरेको छ।

११. राजनीतिक स्थायित्व, रूपान्तरण नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता, उद्धघोषका साथ प्रारम्भ भई उत्साहका साथ सम्पन्न यो बैठकबाट हासिल नवीन ऊर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिबद्धताका साथ यो ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्