हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, आज पूरक प्रस्ताव लगिँदै

होस्ट खबर १० फाल्गुन २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।

कुल १ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक शंकर भण्डारीले रातोपाटीलाई बताए ।

बुधवार साँझसम्ममा बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनले बताए । हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।

यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।

हिन्दु राष्ट्रबारे प्रस्ट होस्

जुम्ला जिल्लाका सभापति कर्णबहादुर शाही हिन्दु राष्ट्रका बारेमा पार्टीले अब उठान गर्ने कि नगर्ने, त्यसबारे निर्णय लिनुपर्ने बताए । ‘हिन्दु राष्ट्रको मुद्दा उठाउने हो कि अब नउठाउने हो भन्ने निर्णय गरोस् । कुनै न कुनै बेलामा हिन्दु राष्ट्रको एजेन्डा उठाउनुपर्छ,’ उनले बन्दसत्रमा भने ।

गठबन्धन के गर्ने भनेजस्तै हिन्दु राष्ट्रबारे पनि महासमितिमा वक्ताहरू विभाजित छन् । वक्ताहरूमध्ये आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले ‘हिन्दु राज्यको कुरा गरेर देश टुक्र्याउन खोजेको हो’ भन्दै आपत्ति जनाएका छन् । ‘पूर्व र पश्चिमलाई एकै ठाउँमा जोड्ने कांग्रेस अभिभावक र ऐतिहासिक पार्टी भएकाले पार्टीलाई धर्मसँग जोड्ने कुरा उठाउनु कुन तहको विज्ञता हो ?,’ ताप्लेजुङ जिल्ला सभापति गजेन्द्र तुम्वायकले प्रश्न गरे ।

संविधानसभा सदस्यसमेत रहेकी उषा गुरुङले नेपाल एकल धर्म र जातको देश हुन नसक्ने भन्दै संविधानको विरोधमा बोल्ने अधिकार कसले दियो भन्दै प्रश्न गरिन् । भोजपुर जिल्ला सभापति विनोद बान्तवाले हिन्दु राज्यको पक्षमा हस्ताक्षर नगरेको बताए ।

महासमिति बैठकको मूल गेटअगाडि हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर अभियान चलिरहेको छ । ‘त्यहाँ एउटा झुण्ड रहेछ, मलाई सही गर भन्यो । मैले भने– संविधान भत्काउने काम नगर्नुस् । हाम्रा नेताहरूले कान नसुन्ने, आँखा नदेख्ने हो रु कहिले गम्भीर रूपमा सोच्ने, मुलुक अधोगतिमा जान्छ,’ बन्दसत्रमा उनले भने ।

एउटा झुण्डले भन्दैमा हिन्दु राज्य बनाउन नहुने उनले बताए । ‘एउटा झुण्डले भन्दैमा हिन्दु राज्य बनाउने कुरा सह्य हुँदैन,’ बान्तवाले भने ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्