कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै

होस्ट खबर १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभ आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिएका छन् । कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् ।

वीरेन्द्रनगर सिद्धार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्बन्धित मन्त्री र सचिवहरूलाई निमन्त्रणा गरिने मन्त्री जिसीले बताए ।

कन्क्लेभमा चार वटा महत्वपूर्ण किनोट प्रस्तुति र छ वटा प्यानलमा छलफल हुनेछ । यसैगरी नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरूको पावर संवाद सेसन पनि समावेश रहेकोछ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमता र डिजिटल रूपान्तरणको प्रतिबद्धता जस्ता विषयहरूमा समेत छलफल हुनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने मन्त्री जिसीले जानकारी दिए । उक्त आयोजना दुई दिनसम्म चल्नेछ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका संस्थाहरूलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोगमार्फत भइरहेका सकारात्मक प्रयासहरूलाई कन्क्लेभमा स्टल र छोटो भिडिओ प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आईडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइटमार्फत बुझाउन सकिनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array