नेपालमा उत्पादित सुन्तला अब राष्ट्रिय फल !

होस्ट खबर २३ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ : नेपालमा उत्पादन हुने सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी भएको छ । कृषि तथा पुशपक्षी विकास मन्त्रालयले छलफल अध्ययन, अनुसन्धान गरेर सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको हो । सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५–०७६ तिर सुरु भएको हो ।

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा पठाउने कृषि मन्त्रालयले जनाएको छ । नेपालमा करिब ६६ जिल्लामा सुन्तला खेती हुन्छ भने ४५ जिल्लामा व्यावसायिक खेती गरिन्छ । नेपालमा सुन्तला उत्पादन हुने क्षेत्रफल एक लाख ९८ हजार हेक्टर रहेको छ । उत्पादन औसतमा १७ लाख ७७ हजार टन हुने गरेको छ भने उत्पादकत्व ९.०१ छ ।

१० लाख हेक्टर सुन्तला उत्पादन हुने क्षेत्रफल छ । नेपालमा सुन्तलाजात फलफूल खेती परापूर्व कालदेखि मध्यपहाडी जिल्लामा हुँदै आएकोमा हाल आएर तराईका जिल्लामा पनि व्यावसायिक रूपमा सुरु गरेका छन् । सुन्तला हुने कतिपय पकेट क्षेत्रमा १०० वर्षभन्दा बढी उमेरका सुन्तलाका बोट पाइन्छन् ।

नेपालमा सुन्तलाजात फलफूल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकूल वर्षा तथा उर्वरा माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल मानिँदै आएको छ । नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन् । व्यावसायिक रूपमा ६० वटा जति फलको खेती गरिन्छ । तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख छन् ।

पहिला पहिला नेपाली सुन्तला बङ्गलादेशमा निर्यात हुने गरेको थियो । अहिले पनि अनौपचारिक हिसाबले नेपाली सुन्तला विदेश निर्यात हुने गरेको कृषि मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले जानकारी दिइन् । ‘औपचारिक रूपमा चीनमा निर्यात गर्ने पहल भएको छ,’उनले भनिन्, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा सुन्तला निर्यातको विषय उठाएका पनि थियौँ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array