सुर्खेतमा तेस्रो कर्णाली एक्स्पो महोत्सव सञ्चालन हुने

होस्ट खबर १९ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले गर्न लागेको ‘तेस्रो कर्णाली एक्स्पो–२०८०’ महोत्सव सञ्चालन गर्ने बाटो खुलेको छ। उच्च अदालत सुर्खेतमा परेको रिटको अदालतबाट परामादेश पाएपछि महोत्सव सञ्चालन गर्ने बाटो खुलेको हो।

उच्च अदालतका न्यायधीशद्वय कृष्णबहादुर भट्टराई र काजीबहादुर राई संयुक्त इजालसले एक्स्पो सञ्चालन गर्न बाटो खोलिदिएको हो।

फैसलामा भनिएको छ, ‘निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा विचार गर्दा, सार्वजनिक खरिद ऐन २०६३ को दफा ४७ बमोजिम सार्वजनिक निकायका प्रमुख समक्ष निवेदन दिन सकिने र ऐनको दफा ४९ मा पुनरावलोकन समिति समक्ष दिन सकिने भन्ने कानुनी व्यवस्थाका आधारमा रिट निवेदकको बोलपत्र स्वीकृत नभएको हकमा वैकल्पिक मार्ग उपचारको मार्ग अम्बलन नगरी सोझै अदालतमा गर्नुका साथै मेला महोत्सव जस्तो विषयमा विपक्षी ओम शान्ति मुक्ति इभेन्ट म्यानेजमेन्टको आसयपत्र स्वीकृत भै कार्यदेशसमेत प्राप्त गरिसकेको यस अवस्थामा सुविधा र सन्तुलन तथा विपक्षीहरुका तर्फबाट निवेदनसाथ पेश भएको दर्ता रजिष्टर समेतका आधारमा निवेदन माग बमोजिम बिपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गर्न मिलेन।’

अदालतबाट बाटो खुलेपनि महोत्सव केही दिन पछाडी जान सक्ने उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए। महोत्सवको तयारी भने पूरा भएको उनको भनाई छ।

‘यही माघ २६ गतेबाट गर्ने भनिएको कर्णाली एक्स्पो दुई चार दिन पछाडी हुन सक्छ’ उनले भने, ‘महोत्सवका सम्पूर्ण तयारी पुरा भएका छन्।’

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले कर्णाली एक्स्पोको व्यापक तयारी भएको र कर्णालीको कला तथा संस्कृती झल्किने गरी महोत्सवको आयोजना गरिने जानकारी दिए।

महोत्सवलाई व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्ने र कर्णालीका कला, संस्कृति, यहाँका रैथानेहरूलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array