थप अनुदानका लागि कर्णाली प्रदेशका ११ स्थानीय तह छनोट

होस्ट खबर ८ माघ २०८०, सोमबार
2 Min Read
Aa

सिमकोट : नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कर्णाली प्रदेशबाट ११ स्थानीय तह छनोट भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ११ वटा मात्र छनोटमा परेका हुन्।

सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले सिमकोट गाउँपालिकासहित कर्णाली प्रदेशबाट थप अनुदान पाउने कार्यक्रमका लागि ११ वटा स्थानीय तह मात्र छनोटमा परेको बताए।।

नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम चालु वर्ष २०८०–८१ को कार्यक्रम सञ्चालनका लागि पुस ५ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९स्रोत परिचालन समन्वय शाखा० बाट आवेदन सूचना प्रकाशन गरिएको थियो।

सो कार्यक्रमका लागि कर्णाली प्रदेशका लागि ११ वटा गाउँपालिका छनोटमा परेका छन्। कर्णाली प्रदेशका ११ स्थानीय तहमा दैलेखको भगवती माई गाउँपालिका, हुम्लाको सिमकोट गाउँपालिका, दैलेखको महावु गाउँपालिका, सल्यानको कपुरकोट कालिमाटी र सिद्धकुमाल गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सल्यानको बागचौर नगरपालिका, कालिकोटको तिलागुफा नगरपालिका, रुकुम पश्चिमको बाफीकोट गाउँपालिका र सुर्खेतको लेकवेसी नगरपालिका छनौटमा परेका हुन्।

नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम लागत साझेदारीमा हुने कार्यविधिमा उल्लेख छ। देशभरबाट आवेदन दिएका २४२ स्थानीय तहमध्ये कार्यविधिमा तोकिएको मापदण्ड पूरा गरेका १०४ स्थानीय तहलाई छनोट गरिएको सूचनामा प्रकाशन गरिएको छ। महानगर, उपमहानगरपालिको हकमा एक करोड रुपैयाँसम्मको कार्यक्रमका लागि ३० प्रतिशत, नगरपालिकाको हकमा एक करोड रुपैयाँसम्मको कार्यक्रमका लागि २५ प्रतिशत लागत स्थानीय तहले गर्नुपर्ने छ।

त्यस्तै, गाउँपालिकाको हकमा ७५ लाख रुपैयाँसम्मका लागि १५ प्रतिशत लागत स्वयं स्थानीय तहले नै गर्नुपर्ने छ। कार्यक्रममा सहभागी हुन स्थानीय तहले कार्यपालिकाको निर्णयको प्रतिलिपि र कार्यक्रमको लागत साझेदारी प्रतिबद्धतापत्रसमेत आवेदनमा समावेश गरेका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array