सुर्खेत : सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा हिजो भएको सर्वपक्षीय छलफलमा विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि ६ बुँदे निर्णय गरिएको हो । बैठकले अहिले सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा प्रभावितलाई मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग पहल गर्ने र यससँग सिमाना जोडिएको अमरज्योति नमुना माध्यमिक विद्यालयलाई उपयुक्त ठाउँमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित प्रदेश सरकारसँग सम्झौता गर्ने निर्णय भएको छ ।
बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग माग गर्नुका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने र यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएका विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने ठाउँ, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने भएको छ ।
सर्वदलीय एवम् सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत् कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको मेयर मोहनमाया ढकालले जानकारी दिए ।
भेरीगंगाको रामघाटमा नयाँ विमानस्थल बनाउने चर्चासँगै झस्किएका सरोकारवालाहरुले वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने विषयमा जोड दिँदै छलफल चलाएका हुन् ।
यी हुन् निर्णय
- सुर्खेत विमानस्थलबाट दैनिक रुपमा बुद्ध एयरले २ र श्री एयरले १ वटा उडान सञ्चालन गरिरहेका छन्, जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौँबिच आउने जाने काम सहज बनाएको छ । हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।
- सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।
- कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विध्यालय श्री अमर ज्योति नमुना माद्यमिक विध्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकारसँग समझौता गर्ने ।
- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने ।
- सुर्खेत विमानस्थलमा दैनिक रुपमा ३०० भन्दा वढी यात्रुहरु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ । तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु वस्ने स्थान, शौचालय व्यवस्थित लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने ।
- सर्वदलीय तथा सर्वपक्षीय बैठकवाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने ।












प्रतिक्रिया दिनुहोस्