राष्ट्रिय सभा निर्वाचन: कर्णालीबाट कांग्रेसले पठायो ९२ जनाको नाम

होस्ट खबर ११ पुष २०८०, बुधबार
2 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीबाट ९२ जनाको नाम सिफारिस गरेको छ । तीन सिटका लागी प्रदेश कार्यसमितिले जिल्लाबाट आएका नामहरु जस्ताको तस्तै केन्द्रमा पठाएको हो ।

हुम्लाबाहेकका ९ जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेको प्रवक्ता दमनबहादुर शाहीले बताए ।

सुर्खेतबाट पूर्व पार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ बढीको नाम सिफारिस गरेको छ भने दैलेखबाट पूर्व सभापति रविन्द्रराज श्रेष्ठ, पूर्व राष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको प्रवक्ता शाहीले जानकारी दिए ।

यस्तै जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम सिफारिस भएको छ । जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ ।

कालिकोटबाट तरुण दलका पूर्व केन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौ जनाको नाम सिफारिस गरिएको हो ।

रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीलगायतको नाम सिफारिस भएको छ भने सल्यानबाट पूर्व केन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस गरिएको छ ।

मुगुबाट पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको एकल नाम सिफारिस भएको छ । डोल्पाबाट संविधानसभा सदस्य दुधकुमारी हमाल, टंक उपाध्यायलगायतको नाम सिफारिस भएको छ । राष्टियसभामा कर्णालीबाट तीन सिट खाली हुने भएपछि प्रदेश कार्यसमितिले विवादित बन्न नचाहेर सिफारिस भएर आएका नाम सबै केन्द्रमा पठाएको हो । प्रदेश प्रवक्ता शाहीका अनुसार बैठकले कर्णाली प्रदेशको प्रथम सम्मेलन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय भएको बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्