उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

होस्ट खबर १८ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८ सम्मेलनमा भाग लिएर दुबईबाट फर्केलगत्तै उपप्रधानमन्त्री खड्का गए राति घाना प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मंसिर १९ र २० गते हुने छ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र संघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्ने छन् भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्