काठमाण्डौ : काठमाण्डौको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक र एमाले निकट युवा सङ्घका कार्यकर्ताबीच झडप भएको छ । उक्त झडपमा दुईजना घाइते भएका छन् ।

घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।
यसअघि, कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले बल्खुमा आयोजना गरेको प्रदर्शनमा युवा सङ्घका कार्यकर्ता पुगेपछि दुई समूहबीच ढुङ्गा हानाहान भएको हो ।
युवा सङ्घका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा दुई समूहबीच ढुङ्गा हानाहान भएको हो । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।
एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् । युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ ।
आजको विरोध प्रदर्शनका लागि काठमाण्डौ जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा सङ्घलाई तीनकुने तोकेको छ ।













प्रतिक्रिया दिनुहोस्