उपत्यकाको सुरक्षा व्यवस्था कडा, सुरक्षाका लागि सबै संयन्त्र परिचालन

होस्ट खबर ६ मंसिर २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहले भोलि ९मंसिर ७ गते० आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रर्दशनमा हुन सक्ने घुसपैठलाई नियन्त्रणमा लिन प्रहरीले राजधानीको विभिन्न शंकास्पद् ठाउँमा गस्ती, निगरानी तथा सुरक्षा चेकजाँच बढाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार अहिले काठमाडौँ छिर्ने मुख्य नाकाहरुमा आवश्यक प्रहरी परिचालन गरी सुरक्षा निकायले जाँचलाई कडा बनाएको छ । भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ । गृह मन्त्रालयले आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरेको छ ।

मुख्य नाका थानकोटसहित फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगाती, चोभार लगायतका क्षेत्रमा गाडी रोकेर जाँच हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जुलुस, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश नै जारी गरेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्