हाइड्रोजन गाडीलाई कानुन बनाऊ

होस्ट खबर २३ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं : नेपालले हाइड्रोजन उत्पादन गरी विश्वबजारलाई समेत बेच्न सक्ने सम्भावना प्रशस्त छ।

जीवाष्म इन्धनको विकल्पमा विद्युतीय ऊर्जा भन्दाभन्दै संसार अब हाइड्रोजन ऊर्जामा प्रवेश गर्दैछ। तेलका खानी भएका मुलुकहरू साउदीदेखि ओमानसम्म पनि अर्बौं होइन खर्बौंको लगानी हरित हाइड्रोजनमा लगानी गरिरहेका छन्। उनीहरूलाई थाहा छ—जीवाष्म इन्धन सकिँदैछ र यसको भविष्य पनि अब विस्तारै सकिन्छ।

युरोपका मुलुकहरूले अबको दशकभित्रै जीवाष्म इन्धनमाथि प्रतिबन्धै लगाउने घोषणा गरिसके। जर्मनीले केही वर्षपछि हाइड्रोजन ऊर्जाबाट चल्ने जहाजलाई मात्रै अनुमति दिने भनिसकेको छ। नर्वेले त अबको केही वर्षपछि जीवाष्म इन्धनबाट चल्ने गाडीको किनबेचमै रोक लगाउँदैछ। यसरी विश्व हाइड्रोजन ऊर्जातिर लम्किरहेका बेला काठमाडौं विश्वविद्यालयले एउटा हाइड्रोजन कार भिœयाएको छ। यो त केवल सन्देश र संकेतमात्रै हो। विश्वविद्यालयले उक्त कारबाट सरकार र सर्वसाधारण सबैलाई अब नेपाल पनि हाइड्रोजन उत्पादन र त्यसबाट चल्ने गाडीमा जानुको विकल्प छैन भन्दै सन्देश दिँदैछ।

नेपालमा भने हाइड्रोजन कार दर्तादेखि त्यसको सञ्चालनसम्बन्धी कुनै कानुन बनेको छैन। जबकि प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले हाइड्रोजन कार चढ्ने उद्घोष गरेका थिए। तर, न उनले हाइड्रोजन कार नै चढे न त्यससम्बन्धी कानुनको पहल गरे। भारतमा यातायातमन्त्री नीतिन गडकरी हाइड्रोजन कार चढ्छन्। भारतले पनि हाइड्रोजन ऊर्जाका लागि खर्बौं लगानी गरिरहेको छ। भारतका महिन्द्रालगायत कम्पनीले हाइड्रोजन ट्रक निर्माण गरी बजारमा पठाइसकेका छन्। हाइड्रोजन ऊर्जाको विशेषता भनेकै यसबाट जतिसुकै ठूला र हेभी भनिने साधन पनि गुडाउन सम्भव छ, जबकि विद्युतीय ऊर्जाबाट त्यो असम्भवप्रायः नै हुन्छ। विद्युतीयभन्दा हाइड्रोजन ऊर्जा निकै सस्तो पनि पर्छ। विश्वबजारमा यसलाई एक किलोको मूल्य एक डलरमा झार्ने प्रयत्न भइरहेको छ। त्यतिका मूल्यको हाइड्रोजनबाट सयौं किलोमिटर कुनै पनि गाडी गुडाउन सकिन्छ, जब कि जीवाष्म इन्धन निकै महँगो पर्छ।

जीवाष्म इन्धनको पनि नेपालमा खानी नभएको होइन, तर अब त्यो न उत्खनन सम्भव रह्यो न बजारको नै। हाइड्रोजनका लागि भने नेपाल विश्वकै सबैभन्दा ठूलो उत्पादक बन्न सक्ने विज्ञहरू औंल्याउँछन्। हाइड्रोजन ऊर्जाका लागि चाहिने भनेको सफा कञ्चन पानी हो, जसको स्रोत नेपालका हिमनदीहरू हुन्। पानीलाई अक्सिजन र हाइड्रोजनमा टुक्र्याउन सकिन्छ र हाइड्रोजन उत्पादन भइहाल्छ।

नेपालले हाइड्रोजन उत्पादन गरी विश्वबजारलाई समेत बेच्न सक्ने सम्भावना प्रशस्त छ। तर सरकारले सबैभन्दा पहिला हाइड्रोजन उत्पादन, यसको बजारीकरण अनि यसबाट चल्ने सवारीसाधन सञ्चालनसम्बन्धी कानुन भने तत्कालै ल्याउनुपर्छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array