इजरायलमा गोली लागेका छोराको फोन, ‘बुवा बाँचेछु भने आउँला, नत्र अन्तिम भेट यही हो’

होस्ट खबर २३ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ : प्यालेस्टाइनको लडाकु समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन ।

इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रवीण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । बाबु निमबहादुर युद्धग्रस्त क्षेत्रमा घाइते छोरासँग सम्पर्क हुने आशमा घरी मोबाइल हेर्छन्, घरी इजरायलमा भएको आक्रमणबारे आइरहेका समाचार ।

गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए, प्रवीण । शनिबार आक्रमण भएलगत्तै बिहान ११ बजे छोरासँग उनको सम्पर्क भएको थियो । ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो,’ निमबहादुरले छोरासँग भएको संवाद सुनाए ।

प्रवीणले त्यसो भनेको बेला घरका सबै सदस्यसँग आधा घण्टा कुरा गरे । त्यसपछि छोरासँग उनको सम्पर्क हुन पाएन । आइतबार बिहान १२ बजे निमबहादुरको पुन प्रवीणसँग सम्पर्क भयो । ‘दुईवटा खुट्टामा गोली लागेको छ रे, अस्पतालले पनि हेरेको छैन रे’ छोराको खबरबारे सुनाउँदा सुनाउँदै निमबहादुरको गला अवरुद्ध भयो ।

सात समुद्रपारि घाइते भएको छोराको खबरले विक्षिप्त भएका निमबहादुर त्यसपछि बोल्न चाहेनन् । आइतबार छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क हुँदा दंगीशरण गाउँपालिका–३ हेकुलीका वडाध्यक्ष सुकलाल चौधरीसँगै थिए । उनले प्रवीण र उनको परिवारसँग भएको कुराकानीबारे बताए । उनका अनुसार दिउँसो प्रवीण र बाबुबीच करिब दुईदेखि तीन मिनेट भिडियो कल भएको थियो ।

फोनमा भएको कुराकानीमा प्रवीणले आफू अस्पतालमा रहेको र दुईवटा खुट्टामा गोली लागेको बताएका थिए । ‘भिडियो कलमा कुरा गर्दा उनी अस्पतालको बेडमा पल्टिएका थिए । नाकमा पाइप लगाइएको थियो । खुट्टामा गोली लागेको छ, एउटा खुट्टा भाँचिएको छ भन्थे,’ वडाध्यक्षले बताए । परिवारले प्रवीणका बारेमा छिटोभन्दा छिटो सरकारले राजदूतावासमार्फत सम्पर्क गरेर वास्तविक अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् ।

छोरा घाइते भएको खबर पाएका उनको परिवारले सुरक्षित स्थान लगेर उपचार गरी ज्यान बचाइदिन र उद्धार गरिदिन माग गरेका छन् । निमबहादुरका तीन भाइ छोरा छन् । प्रवीण कान्छा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुर सहित उनकी श्रीमती, बुहारी र एक जना नातिनी छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array