यसरी चलिरहेको छ एमालेको कर्णाली अधिवेशनको तयारी

होस्ट खबर २२ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : नेकपा एमालेले १०–११ असोजमा सुर्खेतमा हुने कर्णाली प्रदेशको प्रथम अधिवेशनको तयारी तीव्र पारेको छ ।

बिहीबार अधिवेशनको तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आवश्यक तयारी तीव्र पारिएको बताए ।

अध्यक्ष शाहका अनुसार वीरेन्द्रनगरमा हुने प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । अधिवेशनका लागि प्रदेश अध्यक्ष शाहको संयोजकत्वमा १५ सदस्यीय मूल ब्यवस्थापन समिति गठन गरिएको छ ।

अधिवेशनमा प्रदेशभरबाट झन्डै ६ सय ५० प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधि छनोट ३० भदौमा एकैदिन गरिनेछ । यस्तै, अधिवेशनको प्रतिनिधि छनोट अनुपात भूगोल खुल्लातर्फ एक सय पार्टी सदस्य बराबर एक हुनेछ । दलिततर्फ ७५ पार्टी सदस्य बराबर एक जना प्रतिनिधि हुने र छनोट भएका प्रतिनिधिमध्ये एक तिहाइ महिला संख्या अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

प्रतिनिधि छनोटको आधार भूगोलका लागि पालिका र दलिततर्फका लागि प्रदेश निर्वाचन क्षेत्र रहने साथै दलित पार्टी सदस्यले दलित वा भूगोलमध्ये कुनै एक क्षेत्र रोज्न सक्नेछन् । प्रतिनिधि छनोटको ब्यवस्थापन भूगोलका लागि सम्बन्धित पालिका कमिटी र दलितका लागि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले गर्ने अध्यक्ष शाहले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्