प्रचण्डले महरालाई जेल जान तयार हुनुहोला भनेपछि……

होस्ट खबर २९ श्रावण २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौँ : माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको आलोचना हुन थालेपछि उनी आइतबार दिउँसो नै लमही हुँदै दाङ पुगेका छन् । चिनियाँ नागरिक दावजिन वाङसँगको नियमित सम्पर्कका कारण उनी सुन तस्करहरुसँग जोडिएका समाचार आउन थालेपछि माओवादी पदाधिकारी बैठकमा उनको आलोचना भएको थियो ।

त्यतिमात्र होइन माओवादी कार्यकर्ताहरुले पनि उनीमाथि कारबाही गर्न चर्को दबाब दिइरहेका बेला उनी दाङ पुगेका हुन् । दावाजिन वाङमार्फत इलेक्ट्रिक सिगरेट ९भेप०मा आएको सुनकाण्डमा महरा जोडिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा को को जोडिएको हो जेल जान तयार हुनुस् भनेका छन् ।

भेपमार्फत नेपालमा नौ किलो सुन ल्याएको प्रकरणमा महराको नाम आएपछि प्रचण्डले बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस्तो भनेको स्रोतले जनाएको छ । प्रचण्डको यस्तो भनाइ आएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) समक्ष बयान दिन जाने बताएका थिए ।

‘सीआइबीमा बयान दिन जान्छु यही भनिदिनु होला,’ माओवादीका सचिव वर्षमान पुनमार्फत खबर छाडेर उनले बैठक छलेका थिए । पदाधिकारी बैठकमा जेल जाने कुरा उठेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पुनलाई आफू सीआईबीलाई बयान दिन जाने बताएर महरा लुम्बिनी हुँदै दाङ पुगेको स्रोतले जनाएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी मन्त्री र पदाधिकारीहरूको बैठकमा महराको विषय उठेपछि गृहमन्त्री श्रेष्ठले महरा ‘आवश्यक परे सीआइबीमै पुगेर बयान दिन तयार रहेको’ बताएका थिए । ‘बैठकमा महरा सहभागी थिएनन् उनी काठमााडौँ बाहिर छन्,’ एक पदाधिकरीले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सुन तस्करी लगायतका संगठित अपराध छानबिनमा प्रतिबद्ध रहेको बताउँदै माओवादी नेताहरूको संलग्नता रहेको अवस्थामा उनीहरू आफैँले यसबारे प्रष्ट पार्नुपर्ने बताएका थिए । ‘हाम्रो पार्टीका जो जो नेताको नाम जोडिएको छ, आफैँले आफ्नो संलग्नताबारे प्रष्ट पार्नु होला, नभए जेल जान तयार हुनुहोला,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नै पछिल्ला प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिएको भन्दै अनुसन्धान अघि बढाउन गृहमन्त्रीलाई अन्य नेताहरूकै अगाडि निर्देशन दिएका थिए । श्रेष्ठले पनि साथीहरु भए पनि यस्तो अवस्थामा काम गर्न कठिनाइ भएको र सुरक्षा निकायले काम गर्न चाहेको खण्डमा साथीहरुले सहयोग गर्नुहोला भन्दै पन्छिएका थिए ।

आफ्नै नेताहरुको कारण सरकार र गठबन्धन धरापमा परेको जनाउँदै प्रचण्डले सबैभन्दा ठूलो सत्ता साझेदार दल नेपाली कांग्रेसले अब त्यसै नछाड्ने भएकाले सरकारबाट फिर्ता हुनसक्ने सम्भावना पनि रहेको बताएका थिए । ‘सरकारमा कांग्रेस पनि सहभागी भएको छ ख्याल गर्नुहोला, भ्रष्टाचारको फाइल खोल्दा को को पर्छन् कसैले ख्याल गरेको छैन, सरकारी कागजातले को को समाउनुपर्ने हुन्छ ध्यान दिनुहोला,’ प्रचण्डको भनाई उद्यृत गर्दै माओवादीका एक पदाधिकारीले भने ।

कांग्रेसले आफ्ना सांसद मात्रै पक्राउ गरेको विषयमा प्रचण्डसँग ठूलै असहमति प्रकट मात्र गरेको छैन सरकारले कुनै बेला विश्वासको मत लिनुपर्ने अवस्थामा आएमा कांग्रेसका सांसदले ह्वीप उल्लंघन गर्ने चेतावनीसमेत दिइसकेपछि माओवादी अध्यक्ष प्रचण्डले अत्तालिदै आइतबार पदाधिकारी बैठक राखेका थिए । कांग्रेस सांसद डा।सुनील शर्मा पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई भेटेरै गठबन्धनमा समस्या पर्ने संकेत गरेका थिए ।

त्यतिमात्र होइन शर्मालाई जिल्ला अदालतले थुनामा राख्ने आदेश नदिएपछि कहीँ कतै उनीमाथि प्रतिशोध साँधिएको हो कि भन्ने आशंकालाई झन् बल पुगेको छ । सांसद शर्माले गृह मन्त्रालय अन्तर्गतका निकाय चुपचाप बस्नु र अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागबाट सुन बाहिर गइ राजश्व अनुसन्धान विभागले बरामद गर्नुमा यी दुवै निकायको नेतृत्व गर्ने मन्त्रीहरुले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेका थिए ।

त्यसको केही दिनमा उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी गर्न लगाई पक्राउ गरिएको थियो । तर उनीसँग पक्राउ परेका अन्य चिकित्सकहरुलाई थुनामा राख्ने र उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेपछि सरकारलाई धक्का लागेको छ । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले कांग्रेस सभापति देउवालाई भेटेका थिए । सो भेटमा दुई उच्च प्रहरी अधिकारीहरुको सरुवा गर्ने भनेर श्रेष्ठ फर्केको पनि स्रोतले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्