सुर्खेतमा फैलँदै डेंगी संक्रमण

होस्ट खबर २८ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

सुर्खेत : दुई साता यता सुर्खेतमा डेंगीको संक्रमण बढ्दै गएको छ । विगतका वर्षहरुको तुलनामा क्रमिक रुपमा कर्णालीका जिल्लामा कम संख्याका डेंगीका संक्रमितहरु देखिन थालेका छन् । साउन अन्तिम सातासम्म संक्रमितको संख्या २२ पुगेको छ । यीमध्य धेरै अर्थात् १३ जना सुर्खेतका हुन् । । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगरमा डेंगी संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । चालु आर्थिक वर्षमा संक्रमण अझै बढ्ने देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

चालु आर्थिक वर्षको शुरुवातसँगै जुम्लामा चार, रुकुमपश्चिममा दुई, दैलेख, कालिकोट, सल्यानमा एक/एक जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेल बताउँछन् ।

सुर्खेतमा विशेषगरी शहरीकरण भएका बस्ती तथा वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंगीको उच्च जोखिम रहेको छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. १३, १४, १५ र १६ मा हाल डेंगीका बिरामी देखिएका छैनन् । संक्रमित बिरामीको संख्या हेर्दा नगरपालिकाको वडा नं. १ देखि १२ मा धेरै देखिएको कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताए ।

सुर्खेतका सहरी क्षेत्रहरू वीरेन्द्रननगर बजार, छिन्चु, जहरे, मेहेलकुना र बोटेचौर बजार लगायतका क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत सरसफाइ अभियान थालनी गर्न लागेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख गौतमका अनुसार विगतका वर्षको तुलनामा अहिले डेंगीका संक्रमितहरू कम फेला परेका छन् । उनले स्वास्थ्य संस्थाहरूले सञ्चालन गरेको खोज र नष्ट गर भन्ने अभियान पश्चात संक्रमितको संख्यामा कमी भएको बताए । यस अभियान अन्तर्गत लामखुट्टेका लार्भाहरू खोज र नष्ट गर्नुको साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जनाए । यस वर्ष पनि सचेतनाका कार्यक्रमहरू सञ्चालित भइरहेको उनको भनाइ छ ।

डेंगी एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजग हुनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्