कर्णाली प्रदेशमा असारसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न

होस्ट खबर २ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशमा असारसम्ममा ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । हालसम्म कुल ३१ हजार दुईसय ८६ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो ।

कर्णालीमा कुल ४८ हजार एक सय ३३ हेक्टर बढी जग्गामा धान रोपाइँ हुन्छ । असार १५ गतेसम्ममा कर्णालीमा ३९ दशमलव २५ प्रतिशत धान रोपाइँ भएको थियो ।

जिल्लागत तथ्याङ्कअनुसार सुर्खेतमा ५० प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । त्यसैगरी कालिकोट, मुगु, डोल्पा र हुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय सुर्खेतका वाली विकास अधिकृत यामबहादुर रानाले जानकारी दिए ।

त्यसैगरी रुकुम पश्चिम र सल्यानमा ७५ प्रतिशत रोपाइँ भएको छ । जाजरकोटमा ७० प्रतिशत, दैलेखमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै, जुम्लामा शतप्रतिशत धान रोपाइँ सकिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

सुर्खेतमा हालसम्म सात हजार ६२० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयको तथ्याङ्क छ । यसैगरी, जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमध्ये सबै क्षेत्रमा रोपाइँ भइसकेको छ ।

दैलेखमा चार हजार ६८१, रुकुम पश्चिममा दुई हजार दुई सय ८६, जाजरकोटमा दुई हजार एक सय ४५, सल्यानमा पाँच हजार दुई सय ९२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

डोल्पामा दुई सय ४८ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस्तै मुगु जिल्लामा आठ सय ९१, कालिकोटमा दुई हजार सात सय १७ र हुम्लामा हालसम्म एक हजार एकसय ५५ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्